धरानमा ४ गतेदेखि १० दिन लकडाउन, औषधि पसल मात्र खोल्न पाइने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

धरानमा ४ गतेदेखि १० दिन लकडाउन, औषधि पसल मात्र खोल्न पाइने


२ भाद्र २०७८, बुधबार


धरान । कोरोना सङ्क्रमणको दर बढ्दो क्रममा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा भदौ ४ गतदेखि १३ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ।

धरानको नगर कार्यपालिका बैठकले लकडाउन गर्ने सिफारिस गरेको भोलिपल्ट प्रशासनले १० दिन लकडाउन गर्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जारी गरेको आदेशमा लकडाउन अवधिमा औषधी पसलबाहेक सबै बजार, पसलहरु बन्द गर्ने उल्लेख छ।

स्थानीय तहले सङ्क्रमण दर बढेको भन्दै लकडाउन गर्न सिफारिस गरेअनुसार निर्णय गरिएको प्रजिअ ढकालले बताए।

लकडाउन अवधिमा सर्वसाधारणको हिँडडुल र आवतजावतलाई पुर्णरुपमा निषेध गरिएको छ। यस्तै, धरान गएर कोसी राजमार्गमा चल्ने सवारीसाधनहरुलाई धरान क्षेत्रमा रोक्न, रोकेर यात्रुहरु चढाउन वा ओराल्न पुर्णरुपमा निषेध गरिएको प्रशासनले जनाएको छ।

यसै गरी, दुग्धजन्य पदार्थ सटर नखोली बिहान ७ बजेभित्र बिक्री वितरण गरिसक्नुपर्ने पनि जारी आदेशमा उल्लेख छ।

नगर क्षेत्रमा कुनै पनि व्यक्ति बिरामी भएमा आवश्यक एम्बुलेन्सको व्यवस्था र कोभिड १९ बाट मृत्यु भएकालाई शव वहानको लागि सम्बन्धित वडा अध्यक्ष वा उपमहानगरसँग समन्वय गर्नुपर्ने पनि उल्लेख छ।

यसै गरी, वीपी प्रतिष्ठानमा बिरामीलाई उपचारको भरपर्दो व्यवस्था मिलाउने, प्रतिष्ठानका पदाधिकारी, चिकित्सक, नर्स, कर्मचारी मात्र हाताभित्र आवतजावत गर्न सक्नेछन् भने लकडाउनलाई प्रभावकारी अनुगमन गर्न जनप्रतिनिधिसहित स्थानीय सुरक्षा टोलीहरु परिचालन गर्ने पनि आदेशमा उल्लेख छ।

Tags :
प्रतिक्रिया दिनुहोस