पर्यटक पर्खँदै बुद्ध जन्मस्थल लुम्बिनी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पर्यटक पर्खँदै बुद्ध जन्मस्थल लुम्बिनी


२ भाद्र २०७८, बुधबार


रुपन्देही । कोरोनाको महामारी नभइदिएको भए यस वर्ष बुद्ध जन्मस्थल लुम्बिनीमा स्वदेशी र विदेशी पर्यटक अटाई–नअटाई हुने थिए ।

एक त लुम्बिनी विश्वका बौद्धमार्गीहरुको आस्थाको केन्द्र, अर्को कुरा नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेकाले नेपाल आएका विदेशी पर्यटकमध्ये अधिकांश त कम्तीमा एक पटक लुम्बिनी पुग्ने चाहना राख्थे नै । यी सबै सम्भावनाहरुलाई विश्वभर फैलिएको महामारीले असम्भव बनाइदिएको छ ।

त्यसैले यतिखेर विश्व प्रसिद्ध यो पवित्र स्थल पर्यटक पर्खिएरै बस्न बाध्य छ । नेपाल करिब डेढ वर्षयता देखि ठप्प प्रायः नै छ । कोरोना महामारीको पहिलो लहर सुरु भएदेखि बन्दाबन्दीमा पुगेको देश अझै पूर्ण रुपमा खुल्न सकेको छैन । महामारी फैलिएसँगै बन्द भएको लुम्बिनी पनि पूर्ण रुपमा खुल्न नपाई फेरि बन्द हुन पुगेको छ । महामारीको दोस्रो लहरपछि साउन २७ गते बिहीबारदेखि लुम्बिनी पुनः खुलेको छ । लुम्बिनी खुले पनि यहाँ आउने विदेशी पर्यटकका उडान या अरू पहुँचहरु भने बन्द नै छन् ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा स्वास्थ्य मापदण्ड पालना गरेर मन्दिर प्रवेश गर्न दिइने भएपछि मन्दिर खुल्ला गरिएको हो । कोरोना महामारीलाई ध्यानमा राखेर बिस्तारै अन्य विहारसमेत खोल्नका लागि अनुरोध गरिने लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए ।

मायादेवी मन्दिर पूर्णरुपमा खुलेपछि यहाँका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । मायादेवी मन्दिर खुल्ला भएसँगै आन्तरिक पर्यटकहरु लुम्बिनी आउने क्रम सुरु भएको लुम्बिनी होटेल सङ्घका अध्यक्ष मिथुनमान श्रेष्ठले जानकारी दिए । पर्यटकहरुको आवागमनलाई ध्यानमा राख्दै पर्यटन व्यवसायीले पनि आफ्ना व्यवसायलाई पुनः व्यवस्थित तरिकाले सञ्चालन गरेको उनको भनाइ छ । ‘कोरोना महामारीलाई ध्यान दिएर स्वास्थ्य मापदण्ड पालन गरी पर्यटकलाई सेवा दिएका छौँ,’ उनी भन्छन्। होटेल सङ्घका अनुसार लुम्बिनीमा सानाठूला गरी ८० भन्दा बढी होटेल छन् ।

कोरोना महामारी फैलिएसँगै आन्तरिक तथा बाह्य पर्यटक आवागमन बन्द भएपछि लुम्बिनी सुनसान जस्तै रह्यो । महामारीअघि लुम्बिनी आउने पर्यटकको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको थियो । सन् २०१२ मा सात लाख पर्यटक आएको लुम्बिनीमा सन् २०१९ सम्म आइपुग्दा १६ लाख पर्यटक आएका थिए ।

पर्यटक आवागमनको रफ्तार बढिरहेका बेला कोरोना महामारीले लुम्बिनी पछिल्लो डेढ वर्ष करिब सुनसान जस्तै रह्यो । यद्यपि, कोरोनाको पहिलो लहर सकिएर दोस्रो लहर सुरु हुनुअघिको बिचको समयमा स्वदेशीसहित करिब तीन लाख पर्यटकले लुम्बिनी घुमे । त्यही बिचमा दुई सय ५३ जना विदेशी पर्यटक आए भने ५० हजारको हाराहारीमा भारतीय पर्यटकले लुम्बिनी घुमे । बाँकी स्वदेशी पर्यटक थिए ।

नेपालमा बन्दाबन्दी खुले पनि उक्त समय संसारका थुप्रै देशमा लकडाउन कायमै थियो भने कतिपय देशमा महामारीले अर्को रुप लिँदै थियो । त्यसका बाबजुद पनि यो वर्ष ब्राजिलका ५०, जर्मनीका १७, फ्रान्सका १६, रसियाका २३ र अमेरिकाका ३० जना विदेशी पर्यटकले लुम्बिनी घुमेका छन् । महामारीबिच तीन लाख पर्यटकले लुम्बिनी घुम्नु सामान्य विषय होइन यसले लुम्बिनी घुम्न पर्यटकहरु लालायित छन् भन्ने देखाएको छ ।

दोस्रो लहरपछि लुम्बिनी खुले पनि भर्खरै विदेशी पर्यटकहरु आउने सम्भावना छैन । भारत र नेपालमा तेस्रो लहरका सङ्केतहरु देखिएका छन् । युरोप, अमेरिका लगायतका मुलुकमा सङ्क्रमणको नयाँ लहर देखिन थालेको छ । लुम्बिनी आउने पर्यटकको ठुलो स्रोत मानिने श्रीलङ्कामा पनि सङ्क्रमण कायमै छ ।

लुम्बिनी आउने पर्यटकको ठुलो स्रोत मानिने चीन, म्यान्मा, श्रीलङ्का र थाइल्यान्ड जस्ता बौद्ध मुलुकहरुले भ्रमणका लागि आफ्ना नागरिकलाई बाहिर जान अनुमति दिएका छैनन् । दोस्रो लहरले नेपाललाई आक्रान्त पारेको खबर संसारभर फैलिएका कारण पनि तत्काल पर्यटकहरु घुम्न आउने सम्भावना निकै कम रहेको विश्लेषण गर्छन् कोषका सूचना अधिकृत राजन बस्नेत । रुपन्देही, नवलपरासी र कपिलवस्तुका पर्यटकबाहेक बाहिरी जिल्लाका पर्यटकहरु निकै कम आएको उनको भनाइ छ । यद्यपि, कोरोनाविरुद्धकोे खोप अभियान चलिरहेकाले तेस्रो लहरले उग्र रूप नलिए भारतीय र स्वदेशी पर्यटक आउने आशा व्यवसायीलाई छ ।

अब लुम्बिनी घुम्ने यामसमेत सुरु हुने बेला भएकाले तयारी गरिएको व्यवसायीहरु बताउँछन् । ‘पर्यटक आउने आशामा कोरोना सङ्क्रमणको रोकथामका लागि होटेलहरुलाई पटक पटक स्यानिटाइजेशन गर्ने, पहिलाको तुलनामा सरसफाइलाई बढी जोड दिने, कोठा तथा हातको प्रयोग हुने सामग्रीमा स्यानिटाइजेशन गर्ने काम भइरहेको छ । राम्रो सरसफाइ गरी होटेल, माला, पसल तथा अन्य व्यवसायलार्ई चिटिक्क पारेर पर्यटकहरुलाई स्वागत गरिएको छ भन्छन्,’ लुम्बिनी पर्यटन व्यवसायी सङ्घका सचिव पिन्टु बनिया ।

कोरोना महामारीका कारण विगत दुई वर्षदेखि ट्राभल एजेन्सीहरु पनि प्रभावित छन् । छोटो दूरीका सवारी साधन तथा होटेलमा सामान्य बुकिङ भए पनि तेस्रो चरणको कोरोनाको प्रभाव यकिन गर्न नसक्दा व्यवसाय प्रभावित भएको छ भन्छन्, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट लुम्बिनी प्रदेश उपाध्यक्ष रचना पन्त । सरकारले पर्यटन प्रवर्द्धनका लागि कर्मचारीलाई १० दिन बराबरको पारिश्रमिक रकमसहित पर्यटन काज बिदा दिने निर्णयले पर्यटन व्यवसायी हौसिए पनि कोरोनाको प्रभाव नहराएका कारण व्यवसाय लयमा फर्कन नसकेको उपाध्यक्ष पन्तको भनाइ छ । उनका अनुसार लुम्बिनी प्रदेशमा झन्डै दुई सय टुर एन्ड ट्राभल्स एजेन्सी छन् ।

लुम्बिनी विकास कोषले भने लकडाउनको सदुपयोग गर्दै केही सौन्दर्यसम्बन्धी काम सम्पन्न गरेको छ भने केहीलाई निरन्तरता दिएको छ । लामो समयपछि पर्यटकहरु आउँदा उनीहरुलाई केही नौलो अनुभूति होस् भन्नका लागि सौन्दर्यसम्बन्धी काम गरिएको छ भन्छन्, विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय (अवधेशकुमार त्रिपाठी) ।

उपाध्यक्ष मेत्तेयका अनुसार लुम्बिनी परिसरबाहिर रहेको महिलवारस्थित ५ नं प्रवेशद्वारबाट मायादेवी मन्दिर पुग्ने पैदल मार्गमा रङ्गिन इँटा बिछ्याइएको छ । यसअघिको कालोपत्रे सडक भत्काएर रङ्गिन इँटा बिछ्याउँदा मायादेवी मन्दिरतर्फ जाने यो सडक निकै सुन्दर देखिएको छ । पर्सा चौराहादेखि महिलासम्मको सडक चार लेन बनाएर रङ्ग रोगन गरिएको छ । यसअघि साँघुरो रहेको उक्त सडक फराकिलो भएपछि अहिले लुम्बिनीको बाहिरी रुप परिवर्तन भएको आभास हुन्छ । ५ नं प्रवेशद्वारबाट मायादेवी मन्दिर जाने सडकको दुवैतिर लहरै राखिएका इटालियन पोलमा बालिएका बत्ती रातिको समयमा मनमोहक देखिन थालेका छन् ।

यसअघि रातिको समयमा लुम्बिनी भ्रमण असहज रहेकामा बत्तीको व्यवस्थाले लुम्बिनी भ्रमण निकै सहज भएको छ । मायादेवी मन्दिर परिसरमा घाँस, दुबो काटेर विभिन्न ठाउँमा फूल फुलाइएको छ । पवित्र कुण्ड सफा गरिएको छ । माटो भरेर प्राचीन बोधी वृक्षको संरक्षण र मन्दिर परिसरमा रहेका पुरातात्त्विक संरचनाहरुको मर्मत सम्भार गरिएको छ ।

मायादेवी मन्दिरदेखि शान्ति दीप जाने सडकका दुवै किनारामा पनि इटालियन पोलसहितका सडक बत्ती जडान गरेर आकर्षक बनाइएको छ । केन्द्रीय नहरको पानी सफा बनाइएको छ भने दुवैतिर टुटे फुटेका इँटा मर्मत गरेर चिटिक्क पारिएको छ । इँटा छापेर बनाइएका सडक, बत्ती, फूल र सफा गरिएको पानीमा त्यसको प्रतिबिम्ब निकै मनमोहक देखिन थालेको छ । सफा गरिएका सम्पदाहरु निकै आकर्षक देखिएका छन् । शान्ति दीपबाट केन्द्रीय नहरतिर फर्केर तस्बिर खिच्दा डेढ किलोमिटर टाढा रहेको शान्ति स्तूपा प्रस्ट देखिन थालेको छ ।

केन्द्रीय नहरमाथि बनाइएका आर्क ब्रिज र छेउमा निर्मित मण्डलाहरुको पनि सफाइ गरिएको छ । केन्द्रीय नहरको दुवैतर्फ लहरै रहेका कदमको रुखमुनि फूल फुलाएर सिँगारिएको छ । बगैँचाहरु सफा गरिएको छ भने पैदलमार्गहरु मर्मत गरिएको छ । नयाँ लुम्बिनी ग्राम क्षेत्रमा सारस लगायतका पक्षी र जनावरहरुको संरक्षणका लागि पोखरी बनाएर सिमसार क्षेत्रको विकास गरिएको छ । जहाँ सारसका बच्चा हुर्किरहेका छन् ।

यस्तै गुरुयोजनाको लुम्बिनी ग्राम क्षेत्रभित्र फलफूलका बिरुवा रोपेर हुर्काइएको छ । करिब सम्पन्न हुन थालेको पाँच हजार अट्ने सभा हलले लुम्बिनीको आकर्षण थपेको छ । पर्सादेखि लोखडिया चोकसम्मको सडकको दुवैतिर बगैँचा निर्माण गरेर सिँगार्न थालिएको उपाध्यक्ष मेत्तेयले बताए । यसले पर्यटकलाई थप आकर्षण गर्ने छ । पवित्र उद्यान क्षेत्र घेर्ने परिक्रमा पोखरी सफा गरेर सौन्दर्यसम्बन्धी कामसमेत भइरहेको छ ।

सौन्दर्यसम्बन्धी कामसँगै अन्य पूर्वाधार निर्माणका कामसमेत अहिले भइरहेका छन् । महामारी पूर्ण रुपमा अन्त्य भएपछि आउने स्वदेशी विदेशी पर्यटकले लुम्बिनीमा फरक अनुभूति गर्ने गरी लुम्बिनी सिँगार्ने काम भइरहेको विकास कोषले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस