पूर्ण क्षति भएका मनाङका घर बनाउन प्रतिपरिवार दुई लाख « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पूर्ण क्षति भएका मनाङका घर बनाउन प्रतिपरिवार दुई लाख


१ भाद्र २०७८, मंगलबार


गण्डकी । गण्डकी प्रदेश सरकारले हिमालपारिको जिल्ला मनाङका बाढीपीडितलाई विशेष राहतको घोषणा गरेको छ । जिल्लामा बाढीले पुर्याएको क्षतिको मूल्याङ्कन गरी उक्त राहत प्रदान गर्न लागिएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।

मुख्यमन्त्री पोखरेल र अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले सोमबार जिल्लाको नासों गाउँपालिका दुई ठाउँमा पुगेर क्षतिग्रस्तस्थलको अवलोकन गरेका थिए । स्थानीयवासी पीडितसँगको अन्तक्र्रियामा मुख्यमन्त्री पोखरेलले बर्खाको सुरुमै भएको क्षतिबाट आफू दुःखी भएको बताउँदै बाढीले पूर्ण क्षति पुर्याएका घर निर्माणका लागि प्रतिघर दुई लाख प्रदान गर्ने घोषणा गरे । मनाङमा यो बर्खामा ८५ घर पूर्ण क्षति भएको विवरण सङ्कलन भएको छ । खासगरी नासों गाउँपालिकाको वडा नं १ मा ७० घरमा क्षति पुगेको छ । धारापानीमा पनि १२ घरमा क्षति पुगेको पालिका अध्यक्ष चन्द्र घलेले बताए ।

मुख्यमन्त्री पोखरेलले बेँसीसहर–चामे सडक खुलाउन सङ्घ सरकारले काम थालिसकेको र तालसम्म गाडी चल्न थालिसकेको बताए । त्यसभन्दा माथि पनि अहिले धमाधम काम भइरहेको छ । मुख्यमन्त्री पोखरेलले बाढीपहिरो प्रभावित क्षेत्रको आवश्यकताका आधारमा प्राथमिकता तोकेर सङ्घ सरकारसँग समन्वय गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सङ्घ सरकारले मनाङलाई विपद् सङ्कटग्रस्त घोषणा गरिसकेको छ । जिल्लामा विभिन्न बस्तीको पुनःनिर्माणका लागि आफूले केन्द्रसँग समन्वय गरिहरहेको मुख्यमन्त्री पोखरेलले बताए । मनाङ सदरमुकाम चामेमा बाढीकै कारण बिजुली बत्ती नबलेपछि प्रदेश सरकारले सबै सरकारी कार्यालयमा सोलार जडान गरिसकेको छ । जसका कारण सेवाग्राहीले सहजै सेवा लिन पाएका छन् ।

अर्थमन्त्री रामजीप्रसाद बरालले बाढी र पहिरो प्रभावितको पहिचान गरी तत्काल र दीर्घकालीनरूपमा समस्या समाधानका लागि सरकार प्रतिबद्ध भएको बताए । वडा नं १ को अधिकांश बस्ती बगरमा परिणत भएकाले अस्थायी बसोबासका साथै प्रभावितलाई खान, बस्न प्रबन्ध भइरहेको र प्रदेश सरकारले कमी हुन नदिने उनले बताए ।

अझै पनि मस्र्याङ्दी नदीमा पानीको बहाव कम नहुँदा आसपासका बासिन्दा त्रासमा छन् । नासों गाउँपालिका धारापानी मनाङमा गत असार १ गते परेको अविरल वर्षाले मस्र्याङ्दी नदी र दूधखोलामा आएको बाढीका कारण गाउँका नौवटै वडा प्रभावित भएको नासों गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताए । बाढीले स्थानीयवासीको घरबास नै डुबाउनुका साथै खेतीयोग्य जमिनसमेत बगाएको छ ।

मूल सडक र झोलुङ्गे पुल बगाएको छ । गोरेटो बाटोसमेत हिँड्न सकिने अवस्थामा छैन । सञ्चार र बिजुलीसमेत नहुँदा आफूहरू मर्कामा परेको स्थानीयवासीले दुःखेसो गरेका छन् । सोमबार मुख्यमन्त्री र अर्थमन्त्रीसँगै काँग्रेस सांसद चिन्तबहादुर घले, माओवादी केन्द्रका नेता कपिल लामा सहभागी भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस