सभामुखद्वारा अफगानिस्तान घटनाबारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सभामुखद्वारा अफगानिस्तान घटनाबारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन


३२ श्रावण २०७८, सोमबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा भएका नेपालीको घटनाका बारेमा जतिसक्दो छिटो सदनलाई जानकारी दिन सरकारलाई निर्देशन दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको सुरुआतमै समय लिएर नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटाले अफगानिस्तानमा भएको घटना र त्यहाँ रहेका नेपालीको अवस्था जान्न पाउनुपर्ने विषयमा उठाएको कुरामा तत्काल उद्धार गर्न सभामुख सापकोटाले उक्त निर्देशन दिए ।

सभामुख सापकोटाले भने, “माननीयज्यूले उठाउनुभएकोे विषयवस्तुप्रति संसद्को गम्भीर ध्यानाकर्षण भएको छ, सरकारलाई जतिसक्दो छिटो उक्त विषयमा संसद्लाई जानकारी दिन निर्देशन गर्दछु ।”

पूर्वसञ्चारमन्त्री बाँस्कोटाले अफगानिस्तान सार्कराष्ट्रकै सदस्य राष्ट्र भएको र नेपाल सार्कको अध्यक्ष भएको हुँदा उक्त घटनामा सरकारको दृष्टिकोण आउनुपर्नेमा जोड दिए । उनले अफगानिस्तानमा रहेका नेपाली नागरिक त्रसित र भयभित अवस्थामा रहेका हुनाले सङ्कटमा परेका नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण गराए । बाँस्कोटाले भने,’देशमा सरकार छ, तर अफगानिस्तानमा रहेका नेपालीको विषयमा चिन्ता देखिएन ।’

उनले जतिसक्दो छिटो अफगानिस्तानमा भएको घटना के हो भनेर सरकारको दृष्टिकोण आउनुपर्ने भन्दै २०७३ सालमा नागरिकमाथि हमला हुँदा तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारको सरकारले तत्काल उद्धारसमेत गरेको स्मरण गराए । उनले तत्काल अफगानिस्तानमा बसेका नेपालीको अवस्था, परिवारलाई सूचना र सरकारका तर्फबाट जतिसक्दो छिटो प्रतिबद्धता आउनुपर्ने माग गरे।

Tags :
प्रतिक्रिया दिनुहोस