आजदेखि विद्यार्थीको भौतिक उपस्थितिमा वीरगञ्जका विद्यालयमा पढाइ शुरु « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

आजदेखि विद्यार्थीको भौतिक उपस्थितिमा वीरगञ्जका विद्यालयमा पढाइ शुरु


३१ श्रावण २०७८, आइतबार


वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका विद्यालय कक्षा ८ देखि १२ सम्मका विद्यार्थीको भौतिक उपस्थितिमा आइतबार (आज) बाट सञ्चालनमा आएको छ ।

वर्षाका कारण विद्यार्थीको उल्लेख्य उपस्थिति भने देखिएको छैन । पहिलो दिन ५० प्रतिशत विद्यार्थी विद्यालयमा उपस्थित भएका छन् ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि पर्सामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइएको थियो । जसका कारण विद्यार्थीको पढाइ लामो समयदेखि प्रभावित भइरहेको छ । निजी विद्यालय र केही सामुदायिक विद्यालयहरुले माथिल्लो कक्षालाई अनलाइन प्रविधि मार्फत पठनपाठन गराउँदै आएका भए पनि सामुदायिक विद्यालयका अधिकांश विद्यार्थी पढ्नबाट वञ्चित थिए ।

वीरगञ्ज महानगरपालिकाले साउन २७ गते सरोकारवालासँग छलफल गरेपछि दोस्रोपटक विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने भनी सूचना जारी गरेको थियो । कोरोना संक्रमण घटेका कारण महानगरले असार १५ गतेखि नै विद्यालय सञ्चालन गर्ने तयारी थालेको थियो । तर जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समितिले निषेधाज्ञा हटाई बजार खोल्ने निर्णय गरे पनि विद्यालय सञ्चालनमा रोक लगाएपछि विद्यालय खुल्न सकेका थिएनन् ।

विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा, २०७७ अनुसार पहिलो चरणमा जनस्वास्थ्य मापदण्डको पालना गर्दै अभिभावकको स्वीकृतिमा कक्षा ८ देखि १२ सम्मको पठनपाठन भौतिक उपस्थितिमा गरिएको हो ।

वीरगञ्जमा कोरोना संक्रमण घटेकाले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ अनुसार विद्यालय सञ्चालन गर्न महानगरले गरेको अनुरोधलाई स्वीकार गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस