मकवानपुर । मकवानपुर जिल्लाको थाहा नगरपालिका फेरि पनि उत्कृष्ट नगरपालिका बनेको छ । अघिल्ला वर्षजस्तै यो वर्ष पनि थाहा नगर जिल्लामै उत्कृष्ट बनेको हो ।
जिल्ला समन्वय समितिको छैटौँ जिल्ला सभाको अवसर पारेर थाहा नगरपालिकालाई जिल्लाका स्थानीय तहहरूमध्ये उत्कृष्ट घोषणा गरेको हो । यो घोषणासँगै थाहा नगरले ह्याट्रिक गरेको छ । लगातार ३ वर्ष जिल्लामा उत्कृष्ट हुने नगरपालिका बनेको हो ।
जिल्ला समन्वय समितिको मूल्याङ्कनको आधारमा हुने उक्त घोषणा छैटौँ जिल्ला सभाको कार्यक्रममा हेटौँडामा घोषणा गरिएको हो । उत्कृष्ट बनेको थाहा नगरलाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नगर प्रमुख लवशेर विष्ट र उपप्रमुख खड्ग गोपालीलाई सम्मान पत्र हस्तान्तरण गरेका छन् ।
कार्य प्रगति तथा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि २०७७ को अंकभारलाई समेत आधार मानी जिल्ला समन्वय समिति मकवानपुरले पुरस्कृत गरेको हो । जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलालका अनुसार थाहा नगरले ७५.५ अङ्क प्राप्त गरेको छ ।
थाहा नगरले ह्याट्रिक गरेपछि नगर प्रमुख विष्टले जनप्रतिनिधि तथा कर्मचारीहरूमा आभार व्यक्त गरेका छन् । पालिकाको सफलता नै सबै नगरवासीको सफलता भएको बताउँदै विष्टले आगामी दिनमा थप उचाइ प्राप्त गर्नका लागि पनि सहयोगको आवश्यकता रहेको बताएका थिए ।