सरकारलाई सर्वोच्चको आदेश- वृद्धवृद्धा, दीर्घरोगी र अपांगलाई घरमै गएर खोप लगाइदिनु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सरकारलाई सर्वोच्चको आदेश- वृद्धवृद्धा, दीर्घरोगी र अपांगलाई घरमै गएर खोप लगाइदिनु


२९ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिकलाई घरमै गएर कोरोना खोप लगाउन सरकारको नाममा अन्तरिम आदेश दिएको छ ।

अधिवक्ता प्रवेश केसीले दिएको रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले शुक्रबार वृद्धवृद्धा र अपांगता भएका व्यक्ति केन्द्रसम्म आउन नसक्ने भएकालाई घरमै गएर कोरोना खोप लगाइदिन आदेश दिएको हो।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘संवैधानिक हकको प्रचलनको परिप्रेक्षमा खोप केन्द्रमा जान असमर्थ जेष्ठ नागरिक। विस्तारामा रहेका, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घ रोगीहरू तथा फरक क्षमता भएका, दुवै आँखा नदेख्ने व्यक्तिहरू समेतका लागि, राज्यले वडा(वडा स्तरबाट लगत संकलन गरी वा उपयुक्त अन्य माध्यमबाट पहिचान गरी घर(घरमा पुगी कोभिडको खोप सेवा उपलब्ध गराउने कार्यक्रम र मनासिव समय तालिका तर्जुमा गरी सोको उपयुक्त सूचना प्रवाह गरी संवैधानिक दायित्वको निर्वाहको लागि कार्यक्रम संचालन गर्नु गराउनु भनी विपक्षीहरूको नाममा यो अन्तरिम आदेश जारी गरिदिएको छ।’

संविधानमा नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने भनी संरक्षण प्रदान गरेको र धारा ४१ ले जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने भनी मौलिक हकको प्रचलनको लागि संवैधानिक उपचारको हकसमेत सुरक्षित गरेको पनि सर्वोच्चको आदेशमा उल्लेख छ।

Tags :
प्रतिक्रिया दिनुहोस