मोरङका सुभाषको मृत्यु दर्ता खारेज ,पाए नागरिकता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मोरङका सुभाषको मृत्यु दर्ता खारेज ,पाए नागरिकता


२९ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । विदेशमा मृत्यु भएको भनेर मृत्यु दर्ता गरिएका मोरङ बेलबारी–११ लक्ष्मी मार्गका सुभाष तामाङले बिहीबार मोरङ प्रशासनबाट नागरिकताको प्रतिलिपि पाएका छन् ।

सरकारी अभिलेखमा मृतकको सूचीमा रहेका सुभाष हातमा आफ्नै मृत्यु दर्ताको प्रमाण–पत्र बोकेर पुनः नागरिकता दिलाइ पाऊँ भन्दै चार वर्षदेखि जिल्ला प्रशासन कार्यालय लगायत विभिन्न अड्डा–अदालत धाइरहेका थिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ को दफा २४ अनुसार साउन २६ मा तामाङको मृत्यु दर्ता बदर गरेर बिहीबार नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि दिएका हुन् । ‘कागजपत्रसहित आफैँ उपस्थित भएपछि उनी जीवितै भएको अरू तथ्य प्रमाण आवश्यक नभएकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐनअनुसार उनको मृत्यु दर्ता बदर गरेर नागरिकताको प्रतिलिपि दिइएको हो,’ निरौलाले भने ।

२०७२ साउन ६ गते तामाङको षडानन्द नगरपालिका–२ मा मृत्यु दर्ता भएको थियो। मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मी मार्गमा बसाइँ सरेका तामाङले आफ्नो मृत्यु दर्ता खारेज गरिदिन माग गर्दै वडा कार्यालयदेखि जिल्ला प्रशासनसम्म पटक–पटक धाए। तर, नागरिकता पाउन सकेका थिएनन्।

Tags :
प्रतिक्रिया दिनुहोस