युवामा रहेको सोच, ऊर्जा र साहसलाई उपयोग गर्नुपर्छ : राष्ट्रपति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

युवामा रहेको सोच, ऊर्जा र साहसलाई उपयोग गर्नुपर्छ : राष्ट्रपति


२८ श्रावण २०७८, बिहिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले युवामा भएको क्षमता, सोच र सीपलाई भरपुग उपयोग गर्नुपर्ने बताएका छन् ।

‘अन्तर्राष्ट्रिय युवा दिवस’ का अवसरमा राष्ट्रिय युवा परिषदद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा शुभकामना दिँदै उनले राज्यले युवा विकासलाई उच्च प्राथमिकतामा राखेर उनीहरुमा रहेको ऊर्जा, सोच र साहसलाई भरपुर उपयोग गर्नुपर्ने बताएकी हुन्।

राष्ट्रपति भण्डारीले दिगो विकासका लक्ष्य हासिल गर्नका लागि स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गरी युवालाई उत्पादनसँग जोड्नु आवश्यक रहेको उल्लेख गर्दै मुलुकको सकारात्मक परिवर्तनका लागि नेपाली युवालाई सिर्जनात्मक सोचसहित प्रेरणा मिलोस् भन्ने कामनासमेत गरिन् ।

युवा शक्ति देशको शक्ति हो भन्दै उनले युवाको काँधमा परिवार, समाज र राष्ट्रको ठुलो जिम्मेवारी रहेको बताइन्। राष्ट्रपति भण्डारीले युवा जनशक्ति बेरोजगार हुँदा मुलुकको समग्र आर्थिक र सामाजिक प्रणाली नै अवरुद्ध हुने उल्लेख गर्दै युवाको ठुलो पङ्क्ति विदेश पलायन हुँदा दिगो अर्थतन्त्रको विकासका लागि समेत प्रतिकूलता सिर्जना हुन पुग्ने बताइन् । ‘युवाहरु रोजगारीका लागि विदेशिँदा हाम्रा कतिपय सामाजिक सांस्कृतिक मूल्य मान्यतामा विचलन आएको छ । यसले पारिवारिक सुख, शान्तिमा पनि खलल पुगेको छ’, उनले भनिन्, ‘सीपको अभावमा वैदेशिक रोजगारीमा जाँदा न्यून आम्दानी हुनुका साथै स्वास्थ्य सुरक्षा र नोकरी पनि असुरक्षित हुन जान्छ ।’

राष्ट्रपति भण्डारीले कृषिजन्य पदार्थ र वनजन्य वस्तुको उच्च व्यापार घाटालाई न्यूनीकरण गर्नका लागि युवालाई कृषि क्रान्तिमा सामेल गराउनुपर्ने उल्लेख गर्दै युवालाई सीपयुक्त गुणस्तरीय शिक्षाद्वारा नवप्रवर्तनमा सहभागी गराउनुपर्ने आवश्यकता रहेको बताइन् । कोभिड–१९ महामारीले अर्को चुनौती थपिएको बताउँदै उनले सङ्क्रमणकै कारण कृषि प्रणालीमा प्रतिकूलता र खाद्यान्न उत्पादन, वितरण र उपभोगमा समेत समस्या पैदा भएको उल्लेख गरिन् ।

राष्ट्रपति भण्डारीले नवीन सोचका माध्यमबाट खाद्य प्रणालीमा रुपान्तरण तथा वातावरण संरक्षणका साथै नेपाली समाज र सिङ्गो भूमण्डलीय संरक्षणमा प्रभावकारी भूमिका निर्वाह गर्न युवालाई सफताला मिलोस् भनेर कामनासमेत गरिन् । उनले चेतना र जागरणका संवाहक नेपाली युवाको सर्वाङ्गीण विकास गर्ने उद्देश्यले स्थापित राष्ट्रिय युवा परिषद्ले विभिन्न सिर्जनात्मक काम गर्दै आएकामा खुसी लागेको बताइन् ।

मुलुकको सामाजिक र आर्थिक प्रणालीसँग जलवायु परिवर्तनको मुद्दा अभिन्न अङ्गको रूपमा जोडिएको बताउँदै उनले हरित गृह ग्याँसको उत्सर्जनमा भएको वृद्धिले विश्वमा तापमान बढ्न गई जलवायु सङ्कट उत्पन्न भएको उल्लेख गरिन् । ‘जलवायुको उच्च जोखिममा नेपाल पनि रहेको छ, यसबाट हाम्रो हिमालय क्षेत्रको तापमानमा पनि वृद्धि भई हिमाल पग्लने, हिमताल विस्फोटन हुने र सम्पूर्ण जनजीवन अस्तव्यस्त हुने सम्भावना बढेर गएको छ’, उनले भनिन्।

राष्ट्रपति भण्डारीले अप्रत्याशित बाढी, पहिरो, अनावृष्टि, शीत लहर, प्राकृतिक तापमान अस्वभाविक वृद्धिजस्ता कारणले प्राकृतिक वातावरणलाई समेत खलबल्याएको उल्लेख गर्दै वन विनाश, भूक्षय, आगलागी र प्रदूषणले जनजीवन थप प्रभावित बन्न पुगेको बताइन्। ‘जलवायु परिवर्तनका नकारात्मक असरलाई न्यूनीकरण गर्नका लागि युवा समुदायले विशेष पहल लिनुपर्दछ’, उनले भनिन् । खाद्य उत्पादनमा ह्रास, असुरक्षित खाद्य व्यवस्था, खानाको गलत प्रयोग र पोषणयुक्त खानाको कमीले मानव स्वास्थ्यमा प्रतिकूल असर परिरहेको बताउँदै उनले हाम्रो खाद्य प्रणालीमा रुपान्तरणका लागि खाद्यवस्तु उत्पादन, संरक्षण, वितरण र उपयोगमा युवाको नवीन सोचको प्रयोग हुन सके मानव स्वास्थ्य सुरक्षित हुने विश्वास व्यक्त गरिन् ।

‘खाद्य प्रणालीमा रुपान्तरणः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि यो दिवस मनाउन थालिएको हो । दिवसकै अवसरमा राष्ट्रिय युवा परिषद्को आयोजना गरिएको युवाको क्षमता विकास, युवा नेतृत्वसम्बन्धी कार्यक्रम गरिएको छ ।

परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले परिवर्तनका संवाहक युवा भएकाले युवाको क्षमता विकास गरेर मात्र मुलुकलाई समृद्ध बनाउनुपर्ने धारणा राखे। उनले सरकारले युवालक्षित कार्यक्रम ल्याए पनि कार्यान्वयनमा समस्या भएकाले युवाका मुद्दा अझै सम्बोधन हुन नसकेको बताए । नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । सरकारी रूपमा परिषद्को अगुवाइमा विसं २०७३ देखि मनाउन थालिएको हो ।

युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् । नेपालमा कूल जनसङ्ख्याको ४०.३ प्रतिशत युवा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस