प्राविधिकसहितका कर्मचारी नहुँदा काम गर्नै मुस्किल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्राविधिकसहितका कर्मचारी नहुँदा काम गर्नै मुस्किल


२८ श्रावण २०७८, बिहिबार


जाजरकोट । विद्युत्को लाइन विस्तारसँगै आवश्यक प्राविधिकको अभावले काम गर्न नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालयमा समस्या हुँदै आएको छ । एघार केभी प्रसारण लाइन जिल्ला सदरमुकाममा ल्याउँदै गर्दा १७ कर्मचारीले धानेको काम अहिले लाइन विस्तार तीव्र भइरहँदा कर्मचारीको सङ्ख्या घटेर १३ पुगेको छ ।

कूल ३० जनाको दरबन्दी भए पनि हाल १३ जना कर्मचारी कार्यरत छन् । तीमध्ये पाँच करार, पाँच ज्यालादारी, तीन स्थायी कर्मचारी कार्यरत रहेको जाजरकोट शाखा प्रमुख विशाल लामिछानेले बताए ।

हाल सदरमुकाममा मात्र कार्यालय रहेकाले गाउँमा लाइन विस्तार भएसँगै त्यहाँका उपभोक्तालाई सदरमुकामसम्म आएर शुल्क बुझाउन समस्या भएको छ । रु १०० सय शुल्क तिर्नका लागि एक हजार खर्च गर्नुपर्ने बाध्यता छ । अहिले छेडागाड नगरपालिकाको मोर्क, नलगाड नगरपालिकाको दल्लीमा नयाँ उपशाखा खोल्ने तयारी भए पनि कर्मचारी नहुँदा समस्या हुँदै आएको छ । लाइन विस्तारको काम तीव्र भए पनि कर्मचारी अभावले गर्दा काम गर्न समस्या हुँदै आएको छ ।

जाजरकोट, सुर्खेतको आधा भाग, सल्यानको आधा भागसमेत यहाँको विद्युत् प्राधिकरण कार्यालयले नै मर्मत तथा लाइन विस्तारको काम गर्नुपरे पनि सवारीसाधनको नाममा एकथान मोटरसाइकल तथा एकथान थोत्रो गाडी रहेको र स्थलगत कामका लागि पनि व्यक्तिगत सवारीसाधन प्रयोग गरेर खटिनुपरेको कार्यालयका कर्मचारीको गुनासो छ प्रदेशबाट गरिएका ठेक्कामा चरम लापर्बाही भएका कारण काममा ढिलासुस्ती हुँदै आएको छ । पहुँचको भरमा ठेक्का लिने तर बीचमै छोड्दा तोकिएको समयमा काम हुन नसकेको उपभोक्ताको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस