मेलम्ची प्रभावित भएकाले खानेपानी व्यवस्थापनको माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मेलम्ची प्रभावित भएकाले खानेपानी व्यवस्थापनको माग


२८ श्रावण २०७८, बिहिबार


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा मेलम्ची खानेपानी आयोजनालाई बाढी पहिराले प्रभावित बनाएकाले काठमाडौँ उपत्यकाको खानेपानीका लागि उचित व्यवस्थापन गर्नुपर्नेलगायत जनजीवनका विषयमा सरकारसँग माग गरिएको छ ।

बैठकको शून्य समयमा नेकपा (एमाले) का सांसद जीवनराम श्रेष्ठले काठमाडौँ उपत्यकाको खानेपानीको उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराए । गत असार १ गतेको बाढी पहिराका कारण मेलम्ची खानेपानी आयोजना स्थलमा क्षति पुगेको छ ।

नेपाली काङ्ग्रेसकी उमा रेग्मीले असारे विकासले बजेट दुरुपयोग भएकाले यसमा संलग्नलाई कारबाही गर्न माग गरिन् । नेकपा (माओवादी केन्द्र) का अमनलाल मोदीले कोरोना कहरबाट प्रभावित बालबालिकालाई उपचार गर्न माग गरे भने सांसद अतहर कमाल मुसलमानले सुकुम्वासी समस्या आयोग विघटन गरिएकामा आपत्ति प्रकट गरे । सांसद आशाकुमारी विकले जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्न आग्रह गरिन् । सांसद इन्दुकुमारी शर्माले जनकपुर–जलेश्वर सडक दशकौँदेखि जीर्ण भएकाले मर्मत गर्न आग्रह गरिन् ।

सांसद कल्याणी कुमारी खड्काले रौतहटमा चिनी उद्योगले मजदुरको बाँकी रकम चाँडो दिन आग्रह गरिन् । सांसद खगराज अधिकारीले अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल स्वदेश फिर्ता ल्याउन आग्रह गर्दै अन्यथा सदन चल्न नदिइने बताए ।

सांसद कुमारी मेचे, कृष्णबहादुर राई, कृष्णभक्त पोखरेल, केदार सिग्देल, खेमप्रसाद लोहनी, गजेन्द्रबहादुर महत, गणेशकुमार पहाडी, गणेशसिंह ठगुन्ना, गोपालबहादुर बम, गोमा देवकोटा, गङ्गा चौधरी, घनश्याम खतिवडा, चाँदतारा कुमारी, जिपछिरिङ लामा, जुलीकुमारी महतो, झपटबहादुर रावललगायतले सो समयमा समसामयिक विषयमा भाग लिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस