ओली र नेपाललाई मिलाउन विष्णु रिजालको १४ बुँदे स्मरणपत्र « प्रशासन
Logo १० मंसिर २०७८, शुक्रबार
   

ओली र नेपाललाई मिलाउन विष्णु रिजालको १४ बुँदे स्मरणपत्र


२८ श्रावण २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ नेता माधवकुमार नेपालसँग मिल्न आग्रह गर्दै १४ बुँदे स्मरण पत्र बुझाएका छन् । रिजालले बुधवार अध्यक्ष ओलीलाई भेटेर १४ बुँदे स्मरणपत्र बुझाउँदै नेपालसँग मिल्न आग्रह गरेका हुन् ।

उनले आजको एमाले नेता नेपाल र अध्यक्ष ओलीबीचको सहकार्यको उपज भएको बताउँदै मिल्नुको विकल्प नरहेको बताएका छन् ।

‘तमाम आलोचना र उग्रविरोधका बाबजुद भारतसँग महाकाली सन्धि गर्दा माधव नेपाल र केपी ओली एकै ठाउँ उभिनु भएको थियो । अनेक आरोप र लाञ्छनाहरू खाँदा पनि उहाँहरूले सँगै खानुभएको थियो ।’ उनको स्मरणपत्रमा भनिएको छ ।

१) ०५० सालमा मदन भण्डारीको रहस्यमय हत्यापछि पार्टीमा सिर्जित विशाल र अत्यासलाग्दो रिक्तताको पूर्ति माधव नेपालको नेतृत्वमा उहाँहरू दुई जना मिलेर नै गर्नुभएको हो ।

२) जनताको बहुदलीय जनवादको निरन्तरता, विकास र अद्यावधिक गर्नमा छैटौँ र सातौँ महाधिवशेनमार्फत भएका योगदानहरूमा माधव नेपाल र केपी ओलीको सहकार्यको सोचका परिणामहरू हुन् ।

३) ०५१ मा एमालेको लोकप्रिय सरकार निर्माण र सञ्चालनमा माधव नेपाल र केपी ओलीको योगदानले मुख्य रूपमा भूमिका निर्वाह गरेको छ । प्रधानमन्त्री मनमोहन अधिकारीलाई विवादरहित रूपमा सम्मानित स्थानमा राखेर सरकारका कामहरू माधव नेपालको नेतृत्वमा यही टिमले प्रभावकारी रूपमा गरेको थियो ।

४) तमाम आलोचना र उग्रविरोधका बाबजुद भारतसँग महाकाली सन्धि गर्दा माधव नेपाल र केपी ओली एकै ठाउँ उभिनु भएको थियो । अनेक आरोप र लाञ्छनाहरू खाँदा पनि उहाँहरूले सँगै खानुभएको थियो ।

५) ०५४ को पार्टी विभाजनको पीडादायी क्षणमा माधव नेपाल र केपी ओली एक ठाउँमा उभिएर नै नेकपा (एमाले) लाई बलियो पार्टी बनाइराख्ने सफलता प्राप्त भएको हो । स्थापित नेताहरूले नेकपा (माले) बनाउँदा त्यसको सामना उहाँहरू दुई जनाको सहकार्यबाट नै भएको हो ।

६) ०५६ मा मनमोहन अधिकारीको निधनपछि एमालेका नेता–कार्यकर्तालाई नेतृत्वप्रति भरोसा जगाइराख्ने काम माधव नेपाल र केपी ओलीको संयुक्त प्रयासबाट नै भएको थियो ।

७) माओवादी उग्रवामपन्थलाई हेर्ने सवालमा माधव नेपाल र केपी ओलीका बीचमा समान धारणाहरू नै रहँदै आएका थिए । सैद्धान्तिक–वैचारिक रूपमा त्यस उग्र वामपन्थको तीव्र आलोचना र विरोध अनि व्यावहारिक रूपमा उनीहरूलाई रूपान्तरण गर्ने र शान्ति प्रक्रियामा ल्याउनेबारेमा दुई नेताहरू सँगै उभिएको प्रमाण १२ बुँदे समझदारी पनि हो, जसको मस्यौदा नै माधव नेपालको उपस्थितिमा केपी ओलीले गर्नु भएको थियो ।

८) ०६२/६३ को जनआन्दोलन र त्यसलाई हेर्ने प्रश्नमा पार्टीभित्र विवाद हुँदा दुई नेताहरूको दृष्टिकोण एउटै थियो । ‘ऐतिहासिक जनआन्दोलन’ हो कि ‘जनक्रान्ति’ नै हो भनेर बहस हुँदा उहाँहरू दुवै जना ‘जनक्रान्तिको स्वरूप ग्रहण गरेको ऐतिहासिक जनआन्दोलन’ भन्नेमा पुग्नुभएको थियो र त्यही नै पार्टीको आधिकारिक लाइन बनेको थियो ।

९) ०५३ मा झलनाथ खनाललाई अघि सारेर माधवकुमार नेपाललाई महासचिवबाट हटाउन हस्ताक्षर गरेर अभियान थाल्दा त्यसका विरुद्धमा प्रमुख रूपमा उभिनेमा केपी ओली नै हुनुहुन्थ्यो भने ०६१ मा ज्ञानेन्द्रले माधव नेपाललाई नजरबन्दमा राखेको बेला फेरि झलनाथ खनालले महासचिवबाट हटाउन खोज्दा रोक्नेमा केपी ओली नै हुनुहुन्थ्यो ।

१०) जनआन्दोलनपछि ०६३ मा गिरिजाप्रसाद कोइरालाको सरकारमा पार्टीका तर्फबाट नेतृत्व गरेर जान अनेक नेताहरू दाबेदार रहेको बेला माधव नेपालले जोखिम मोलेर केपी ओलीलाई उपप्रधानमन्त्री बनाएर पठाउनु भएको थियो भने पछि माधव नेपाललाई संविधान सभा सदस्य मनोनीत भएर जानका लागि दबाब दिन र प्रधानमन्त्री बनाउन केपी ओलीले भूमिका निर्वाह गर्नुभएको थियो । पार्टीभित्रैबाट सुरुदेखि नै त्यस सरकरका विरुद्धमा निरन्तर प्रहार हुँदा प्रतिरक्षामा उभिने प्रमुख नेता केपी ओली नै हुनुहुन्थ्यो ।

११) माधव नेपाल र केपी ओलीबीच यस्तोसम्म संयोग छ– ०६४ मा चुनाव हार्दा पनि दुवै जनाले एकैपटक हार्नु भएको थियो । अर्थात् पार्टीको सफलता र विफलताको समान भागीदार उहाँहरू बन्दै आउनु भएको छ ।

१२) संविधानलाई जातीय दस्तावेज बन्न नदिन, राज्य पुनःसंरचनाका नाममा मुलुकको अखण्डता खल्बलिन नदिन र लोकतान्त्रिक मूल्यहरू संकुचन हुन नदिन संविधान निर्माणका सबै विषयवस्तुहरूमा माधव नेपाल र केपी ओली एकै ठाउँ उभिनुभएको पाइन्छ ।

१३) ०७१ को नवौँ महाधिवशनमा उहाँहरूका बीचमा प्रतिस्पर्धा भएपछि विकसित तिक्तताका बाबजुद मूल विषयहरूमा दुई नेताबीच मतभेद देखिएन। केपी ओलीको नेतृत्वमा भारतीय नाकाबन्दीको दृढतापूर्वक सामना गर्ने, माओवादीसँग चुनावी तालमेल र एकता गर्ने, आफ्नो भूमि समेटेर नेपालको नक्सा जारी गर्ने जस्ता कामहरूमा माधव नेपालको खुलेर साथ रहेको छ ।

१४) सैद्धान्तिक–वैचारिक विषयहरूमा मतभेद छैनन्, व्याहारिक रूपमा एक अर्काप्रति गुनासा छन्, आलोचना छन्, विरोध छन् । ती अन्तरविरोधहरूलाई दुई–चार बसाइमै समाधान गर्न सकिन्छ । भेटै नहुँदा र अरूले कुरा लगाउँदा निर्मित अविश्वासलाई आपसमा बसेर समाधान गर्न समय नै लाग्दैन । ०२९–३० सालदेखिको दुई जनाको मित्रतामा प्रतिस्पर्धा भन्दा सहकार्यको पक्ष हावी भएको सन्दर्भमा यस उमेर अवस्थामा आएर समझदारी गर्न नसक्ने विषयहरू कति नै होलान् र ?

दुवै नेताहरू सात दशकमा हिँड्दै हुनुहुन्छ । केपी ओलीले ५० महिना र माधव नेपाल २० महिना मुलुक चलाइसक्नुभएको छ । माधव नेपालले १५ वर्ष (६ वर्ष दोस्रो र ९ वर्ष पहिलो नेताका रूपमा) र केपी ओलीले ७ वर्ष पार्टीको नेतृत्व गरिसक्नुभएको छ । जीवनको यस उत्तरार्द्धमा हाम्रो पुस्तालाई एकीकृत पार्टी हस्तान्तरण गर्दा भोलिका दिनमा उहाँहरूलाई उच्च सम्मानका साथ सम्झिइएला कि टुक्रा–टुक्रा बनाएर नेतृत्व गर्नुभयो भने मर्यादा रहला ?

Tags :
प्रतिक्रिया दिनुहोस