अक्सिजन प्लान्टको तीन करोड फ्रिज « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अक्सिजन प्लान्टको तीन करोड फ्रिज


२८ श्रावण २०७८, बिहिबार


बनियानी । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि आएको रु तीन करोड रकम फ्रिज भएको छ ।

कोरोना भाइरस सङ्क्रमितको उपचार र अक्सिजन आपूर्तिमा सहजता ल्याउने उद्देश्यले अक्सिजन प्लान्ट स्थापनार्थ अस्पताललाई सङ्घीय सरकारले उपलब्ध गराएको उक्त रकम फ्रिज भएको हो ।

आइसियु, भेन्टिलेटर, अक्सिजन प्लान्ट स्थापनालगायतका लागि सङ्घीय सरकारबाट आएको रु नौ करोडमध्ये अक्सिजन प्लान्टका लागि आएको रकम फ्रिज भएको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिए। मेची अस्पतालमा सङ्घीय सरकारले १५० सिलिन्डर क्षमताको अक्सिजन प्लान्टका लागि रकम पठाएको थियो ।

‘जेठ अन्तिममा रकम आयो’, उनले भने, ‘१५ दिने म्याद राखेर बोलपत्र आह्वान गर्‍यौँ, एउटा फर्मले बोलपत्र हाल्यो, त्यसमा पनि काम सम्पन्न गर्न डेढदेखि दुई महिना लाग्ने बताएपछि काम गर्न सकिएन ।’ यता प्रदेश नं १ सरकारले अस्पताललाई उपलब्ध गराएको ३५ सिलिन्डर क्षमताको अक्सिजन प्लान्ट पनि सञ्चालनमा आउन सकेको छैन । अस्पतालमा जडान गरिएको विद्युत् ट्रान्समिटर कम क्षमता भएकाले अक्सिजन प्लान्ट सञ्चालनमा आउन नसकेको हो ।

हाल अस्पतालमा ५० केभिए क्षमताको विद्युत् ट्रान्समिटर छ । अस्पतालको पुरानो र नयाँ सबै भवनमा पुग्ने गरी ३०० केभिएको ट्रान्समिटर जडान गर्न लागिएको सूचना अधिकारी पोखरेलले बताए। नेपाल चिकित्सक सङ्घले दिने भनिएको ११० क्षमताको अक्सिजन प्लान्ट एक महिनाभित्र सञ्चालनमा आउने र प्रदेश सरकारले उपलब्ध गराएको ३५ गरी १४५ सिलिन्डर क्षमताको अक्सिजन प्लान्ट चाँडै सञ्चालनमा आउने उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस