दुई दिनदेखि प्रसव व्यथा लागेकी महिलाको हेलिकप्टरबाट उद्धार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दुई दिनदेखि प्रसव व्यथा लागेकी महिलाको हेलिकप्टरबाट उद्धार


२६ श्रावण २०७८, मंगलबार


गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३, स्थित सिर्दिबास फिलिमकी एक गर्भवतीको हेलिकप्टरबाट आज उद्धार गरिएको छ । दुई दिनदेखि प्रसव व्यथा लागेकी २५ वर्षीय छिरिङ डोल्मा गुरुङको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

नेपाली सेनाको हेलिकप्टरबाट गुरुङको उद्धार गरी सुत्केरी गराउन काठमाडौँ पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए ।

‘घरमै प्रसव व्यथा लागेको दुई दिनसम्म पनि बच्चा जन्माउन नसकेपछि गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालयको विशेष पहलमा गर्भवतीको उद्धार गरिएको हो’, उनले भने, ‘आज बिहानै सेनाको हेलिकप्टर झिकाएर काठमाडौँ पठाइएको छ ।’ राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत विकट क्षेत्रका गर्भवतीको आपत्कालीन उद्धार हुँदै आएको छ ।

गाउँपालिकाको अनुरोधमा जिल्ला प्रशासन कार्यालयले महिला तथा बालबालिका कार्यालयमा उद्धारका लागि सिफारिस गरेपछि गुरुङको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए । सडक सञ्जालको पहुँच नपुगेको उत्तरी गोरखामा गर्भवतीलाई सुत्केरी गराउन स्वास्थ्य संस्थासम्म पुर्‍याउन कठिन हुँदा घरमै सुत्केरी गराउनुपर्ने बाध्यता रहँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस