कर नबुझाउने ४० करदातामाथि कानूनी कारबाही, जग्गा र बैङ्क खाता रोक्का « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कर नबुझाउने ४० करदातामाथि कानूनी कारबाही, जग्गा र बैङ्क खाता रोक्का


२६ श्रावण २०७८, मंगलबार


लहान । लामो समयदेखि कर नबुझाएका ४० करदातामाथि आन्तरिक राजस्व कार्यालय लहानले कानूनी कारबाही अघि बढाएको छ ।

दर्ता भएर पनि कर नबुझाउने ४० करदातामाथि कानूनी कारबाही स्वरूप कारोबार, बैङ्क खाता र चल अचल सम्पत्ति रोक्का गरिएको कार्यालयका प्रमुख रामप्रसाद खतिवडाले जानकारी दिए।

रु पाँच लाखसम्म कर बक्यौता राखेका ७५ करदातामाथि कानूनी कारबाही अघि बढाइएकामा आर्थिक वर्ष २०७७ र ७८ मा ३५ जना करदाताबाट रु पाँच करोडभन्दा बढी बक्यौता असुली भएको प्रमुख खतिवडाले बताए । मूल्य अभिवृद्धि कर, आयकर तथा अन्तःशुल्कतर्फ दर्ता भएयता कर नबुझाएका ४० करदातामाथि कानूनी कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख खतिवडाको भनाइ छ ।

यसैबिच कोभिड–१९ को सङ्क्रमण र जनशक्तिको अभावका बाबजुद कार्यालयले आर्थिक वर्ष २०७७ र ७८ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । तत्कालीन सगरमाथा अञ्चलको छ वटा जिल्लामा कार्यक्षेत्र बनाएको कार्यालयले आव २०७७ र ७८ मा रु तीन अर्ब छ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा करिब १०८ प्रतिशत अर्थात् रु तीन अर्ब ३१ करोड राजस्व सङ्कलन भएको प्रमुख खतिवडाले बताए ।

उनका अनुसार आव २०७७र७८ मा आयकरतर्फ रु एक अर्ब ६३ करोड, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब आठ करोड र अन्तःशुल्कतर्फ रु ५९ करोड आठ लाख राजस्व सङ्कलन भएको छ । यो गत आर्थिक आर्थिक वर्षको तुलनामा १७ प्रतिशत बढी राजस्व सङ्कलन हो ।

गत आव २०७६ र ७७ मा रु तीन अर्ब ४५ करोड राजस्व सङ्कलनको लक्ष्य लिएकामा करिब ८१ प्रतिशत अर्थात् रु दुई अर्ब ८१ करोड राजस्व सङ्कलन भएको थियो । कार्यालयका अनुसार आर्थिक वर्ष २०७७ र ७८ मा १२ हजार ८४२ व्यवसायी र २० हजार ८४४ व्यक्तिगत नयाँ प्यान दर्ता भएको जनाएको छ ।

आर्थिक वर्ष २०७७ र ७८ मा करदाता शिक्षा कार्यक्रमअन्तर्गत छ वटै जिल्लामा आर्थिक ऐन, २०७७ र ७८ ले प्रदान गरेको करसम्बन्धी छुट तथा सुविधाबारे सचेतना कार्यक्रम सञ्चालन गरेपछि जनशक्ति अभाव र कोभिड–१९ को सङ्क्रमणका बाबजुद राजस्व सङ्कलनमा वृद्धि भएको प्रमुख खतिवडाको भनाइ छ ।

कार्यालयमा छ जना कर अधिकृतको दरबन्दीमा चार जना र १० जना नायब सुब्बाको दरबन्दीमा तीन जना कर्मचारी मात्र कार्यरत रहँदा कार्यालयको कामकाज प्रभावित हुँदै आएको जनाइएको छ । दरबन्दी अनुसारको कर्मचारी पठाइदिन पटक पटक आग्रह गर्दै आए पनि अझै कर्मचारी नपठाउँदा समस्या भइरहेको प्रमुख खतिवडाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस