अफगानिस्तानमा एकैदिन ५७० लडाकू मारिए, रेडियो सम्पादकको हत्या « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

अफगानिस्तानमा एकैदिन ५७० लडाकू मारिए, रेडियो सम्पादकको हत्या


२६ श्रावण २०७८, मंगलबार


काबुल । अफगानिस्तानमा सुरक्षा कारबाहीका क्रममा एकैदिनमा थप ५७० जना विद्रोही लडाकूहरुको मृत्यु भएको छ । रक्षा मन्त्रालयले पछिल्लो २४ घण्टामा भएका घटनामा परी प्रतिबन्धित तालिबान लडाकूहरु मारिएका सोमबार जानकारी दिएको छ ।

घटनामा परी अरु १६१ जना घाइते भएको सरकारी अधिकारीहरुले जनाएका छन् । देशका नान्गार्हार, खोस्ट, लोगार, पाक्टिया, कान्दाहार, हेरात, फाराह, जोब्जान, सामाङगान, हेल्मान्ड, तखार, कुन्दुज र पन्ज्शीरलगायतका क्षेत्रमा घटना भएका हुन् ।

अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सेना हटाएपछि अफगानिस्तानमा हिंसात्मक गतिविधिहरु बढेका छन् । तालिवान लडाकूहरुले विभिन्न प्रान्तीय राजधानी कब्जामा लिन थालेपछि हिंसात्मक घटना धेरै भएका हुन् ।

यस्तै, अफगानिस्तानको पाकटिया घाग रेडियो स्टेशनका प्रधान सम्पादक टोफान ओमारीको आइतबार काबुलको देह सब्ज जिल्लामा हत्या गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

उनीहरुलाई अफगान लालिवान समूहले हत्या गरेको हुनसक्ने प्रशासनले जनाएको छ । यद्यपि, ओमारीको मृत्युको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन । यसैगरी उनीहरूले युद्धग्रस्त अफगानिस्तानको हेलमन्ड प्रान्तमा एक टेलिभिजन पत्रकारलाई बन्धक बनाएर लगेको बताइएको छ ।

अफगानिस्तानको खानमा प्रेसले बताएअनुसार स्थानीय बुस्ट रेडियो स्टेशनका प्रधान सम्पादक तथा खोस्ट प्रान्तमा अवस्थित गारगाख्ट टिभी च्यानलका संवाददाता नियाम तुल्लाह हेमतलाई हेलमन्ड प्रान्तको नावा जिल्लामा तालिबान लडाकुहरूले बन्दी बनाएर लगेका थिए । ओमारी अफगानको राजधानी काबुलको बाग्राम जिल्लाको न्यायिक तथा न्याय केन्द्रका वकिल पनि रहेको बताइएको छ ।

खानमा प्रेसले बताएअनुसार अफगानिस्तानमा ओपन सञ्चारका लागि आवाज उठाउँदै आएको नाइ नामक संस्थाका प्रान्तीय प्रमुख अबुल सामी घारतमालले हेमातलाई सोमबार नावा जिल्लाको आफ्नो घरबाट बाहिर लगिएको बताउनुभयो । घारतमालले अफगानिस्तानमा सञ्चारकर्मीहरुसँग गरेको वाचा पालना गर्न र पत्रकारलाई जतिसक्दो चाँडो रिहा गर्न तालिवानलाई आग्रह गरे ।

तालिवान समूहले पछिल्ला दिनहरूमा हेलमन्ड प्रान्तका सबै जिल्लाहरूलाई नियन्त्रण गरेको छ भने प्रान्तीय राजधानी लश्करगाहमा अफगान राष्ट्रिय सैनिक तथा सुरक्षा बलसँग लडिरहेको छ ।

पछिल्लो समय तालिबानको आक्रामक गतिविधिका कारण कैयौँ सरकारी फौज र निर्दोष नागरिकहरूको ज्यान गएको छ । अफगानिस्तानभर सोमबार मात्र करिब ७० तालिवान लडाकूको मृत्यु भएको सेनाले बताएको छ ।

गत वर्षको फेब्रुअरीमा अमेरिका र तालिबानबीच हस्ताक्षर गरिएको नयाँ शान्ति सम्झौताअन्तर्गत अमेरिकी सेनाले ठूलो संख्यामा युद्धग्रस्त अफगानिस्तान छोड्न थालेको केही समयपछि नै यो समूहले ठूला तथा आक्रामक हमला गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस