सांसद विकास कोषको रु १५ लाख कागजमै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सांसद विकास कोषको रु १५ लाख कागजमै


२५ श्रावण २०७८, सोमबार


सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा सांसद विकास कोषबाट प्राप्त भएको रु १५ लाख कागजी प्रतिवेदन मै सम्पन्न गरिएको जनगुनासो छ । वडा नं १ को किसनपुरस्थित सडक मर्मतका लागि निकासा भएको सो रकम काम नै नगरी सकिएको आरोप लगाइएको हो ।

गाउँपालिकाले असार १५ गते नै सडक स्तरोन्नति भइसकेको भन्दै प्रतिवेदन तयार पारे पनि स्थानीयवासीले कामै नभएको बताउँदै आएका छन् । स्थानीय रामवृक्ष महतोको घरदेखि भैसियाहीसम्मको सडक स्तरोन्नतिका लागि आएको सो रकम गाउँपालिका अध्यक्ष र वडाध्यक्ष मिलेर अनियमितता गरेको सोही स्थान निवासी अवधलाल रायको आरोप थियो ।

उनले भने, ‘अहिले पनि यो सडक पुरानै अवस्थामा छ, सांसदले उपलब्ध गराएको रकम कहाँ गयो थाहा छैन । जिल्लामा विकासको काम गर्दा कम्तीमा आधा मात्र भए पनि काम गर्ने गरिन्थ्यो तर यहाँ एक मुठी माटो र बालुवा पनि हालिएको देखिएन ।’

आर्थिक वर्ष २०७७/७८ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत आएको सो रकमबाट कागजीरुपमा भइसकेको देखाइएको अर्का स्थानीयवासी राजकुमार महतोको गुनासो थियो ।

आफूहरुले इमान्दारीपूर्वक काम गर्दा पनि अनियमितता भएको भन्दै झुटा कुरा गरेर बदनाम गर्ने कार्य गरिएको गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले बताए । सडकको स्तरोन्नतिका लागि स्थानीयवासीको स्वीकृत योजनाअनुसार भेलाबाट उपभोक्ता समिति गठन गरी रामवृक्षको घरदेखि बेचन पासवानको घर हुँदै भैसियाही खोलासम्मको सडक स्थानीय सरकारको निर्देशिका र मापदण्डअनुसार स्तरोन्नति गरिएको उनको जिकिर थियो ।

अध्यक्ष महतोले गाउँपालिकाको प्रतिक्रियाबिना एकतर्फी समाचार बनाइ केही सञ्चारमाध्यमले पीत पत्रकारिता गरेको आरोप पनि लगाए । जुन सडकमा योजना अनुसार काम भएको छ, त्यसलाई नदेखाई खाल्टो भएको सडकलाई आधार बनाएर समाचार सम्प्रेषण गर्नेलाई पनि कानूनी दायरामा ल्याउने कार्य भइरहेको उनले बताए ।

उक्त सडक मर्मतमा जनसहभागितासहित रु १६ लाख ७७ हजार खर्च भएको कुनै अनियमितता नभएको जिकिर गर्दै अध्यक्ष महतोले रामवृक्षकोे घरदेखि भैसियाहीसम्म तीन वटा सडक रहेकामा एउटा सडक मात्र स्तरोन्नति गरिएको र सोहीअनुसार उपभोक्ता समितिलाई भुक्तानी दिइएको जानकारी दिए ।

सोही वडाका वडाध्यक्ष बच्चे राय यादवले सो स्थानमा कामै नभएको भन्दै साउन ५ गते गाउँपालिकामा उजुरी दिएकामा पछि विचार परिवर्तन गरेका थिए । पहिले तोकिएको भन्दा अर्कै सडक स्तरोन्नति भएको छ भन्ने सुनेको छु कामै नभएको होइन, काम भएको तर सडक फरक परेको हुनसक्ने सांसद प्रमोद साहले बताए।

उनका अनुसार ‘जुन सडकमा काम गर्नुपर्ने हो, त्यहाँ काम भएको देखिएको छैन, मेरो सहमतिबिना योजना अर्कै ठाउँमा सारिएको रहेछ ।’ अर्को ठाउँमा काम गरिए पनि योजना अनुसार नगरिएकाले यस्तो काम गर्नेलाई कारबाही गरिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस