उपत्यकाका सहायक मार्गको निर्माण कार्य छिटो सक्न विकास समितिको निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपत्यकाका सहायक मार्गको निर्माण कार्य छिटो सक्न विकास समितिको निर्देशन


२४ श्रावण २०७८, आइतबार


काठमाडौँ। संसदीय समितिले काठमाडौँ उपत्यकाको सहायक मार्गको निर्माण कार्य छिटो सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।

सङ्घीय संसद् प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको आइतबारको बैठकले बनिरहेका सहायक मार्गहरुले मुख्य सडकको भार कम गर्ने र सहरको सौन्दर्यमा समेत योगदान गर्न सक्ने निष्कर्ष निकाल्दै सहरी विकास मन्त्रालयलाई छिटो निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएको हो ।

बैठकमा समितिले निर्माणको काम समयमै सम्पन्न नहुँदा निर्माण खर्चमा वृद्धि भएको र उपत्यकाका अन्य विकास, निर्माणमा समेत असर परेको भन्दै सडकको हालको अवस्थाबारे पनि समितिलाई जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिएको छ । त्यसै गरी सहायक मार्ग निर्माणको स्रोतको सुनिश्चितता गरेर मात्रै निर्माण कार्य अघि बढाउन पनि सरकारलाई समितिले निर्देश गरेको छ ।

समितिले उपत्यकाको बाहिरी चक्रपथ निर्माणबारे पनि चासो देखाएको छ । बैठकमा सहरी विकास मन्त्रालयका सचिव रमेश सिंहले बजेट वक्तव्यमा समावेश गरिएका सबै कार्यक्रममा बजेट विनियोजन नभएको बताएका थिए।

बजेटमा देशभर १२ स्थानमा स्मार्ट सहर बनाउने भनिएको तर बजेट १० लाखको दरले मात्र विनियोजन गरिएको उनले बताए। १२ अर्ब बजेट विनियोजन हुनुपर्नेमा जम्मा १ करोड मात्रै विनियोजन हुँदा निर्माण कसरी अघि बढ्छ भन्दै उनले प्रश्न गरे ।

उनले उपत्यकामा धेरै आयोजनाको घोषणा गरिए पनि स्रोत सुनिश्चित नहुँदा अगाडि बढाउन नसकिएको स्पष्ट पारे ।

Tags :
प्रतिक्रिया दिनुहोस