मन्त्री कुर्दै सिंहदरवारका कुर्सी, नेमप्लेट र वेबसाइट छैनन् अपडेट « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मन्त्री कुर्दै सिंहदरवारका कुर्सी, नेमप्लेट र वेबसाइट छैनन् अपडेट


२२ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको तीन साता भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । सत्ता गठबन्धनको भागबन्डा नटुङ्गिँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।

मन्त्री नियुक्तिमा ढिलाइ हुँदा १७ मन्त्रालयको जिम्मेवारी अहिले स्वयम् प्रधानमन्त्री देउवाको काँधमा छ । सत्ता गठबन्धनको भागबन्डामै रुमल्लिएका देउवा आफ्नो जिम्मेवारीमा रहेका मन्त्रालय टेक्नसम्म पनि भ्याएका छैनन् ।

विभागीय मन्त्री नियुक्त नहुँदा मन्त्रीका सचिवालय खाली छन् भने मन्त्री स्तरबाट हुने काम पनि प्रभावित भएका छन् । मन्त्री नहुँदा नीतिगत काममा ढिलाइ भएको छ भने सचिवलेसमेत काम गर्न सक्ने अवस्था छैन ।

नयाँ मन्त्रीमा को आउने र आफ्नै सरुवा कहाँ हुने हो भन्ने टुङ्गो नभएका कारण सचिवहरुलाई पनि खासै काममा जाँगर चलेको छैन । सरकार परिवर्तनसँगै सचिवहरु सरुवा हुने परम्पराका कारण कतिपय प्रशासनिक कामहरुमा कर्मचारीको जाँगर चल्दैन । यद्यपि नियमितरुपमा सम्पादन हुनु पर्ने कामकारबाही भने सुचारु नै छन् ।

वेबसाइट पनि छैनन् अपडेट

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को वेबसाइटमा उल्लेख भएअनुसार प्रधानमन्त्री देउवाले १७ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । विभिन्न मन्त्रालयको वेबसाइटमा विभागीय मन्त्रीको ठाउँमा शेरबहादुर देउवाको नाम राखिएको छ । तर, केही मन्त्रालयमा वेबसाइट अपडेट पनि गरिएको छैन । देउवाले सम्हालेका दुई मन्त्रालयका वेबसाइट अपडेट छैनन् ।

प्रधानमन्त्री देउवाले सम्हालेका मध्ये श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको वेबसाइटमा विभागीयमन्त्रीबारे अपडेट नगरिएको हो ।

प्रधानमन्त्रीले सम्हालेका अन्य मन्त्रालयमा सम्माननीय प्रधानमन्त्री एवं विभागीय मन्त्री भनी उल्लेख गरिएको छ भने श्रम र वन मन्त्रालयको वेबसाइटमा मन्त्रीको तस्बिर र विवरण खाली राखिएको छ । त्यसो त धेरै मन्त्रालयमा विभागीय मन्त्रीको नेमप्लेट पनि राखिएको छैन ।

सर्वोच्च अदालतको आदेशपछि संसद् पुनर्स्थापनासँगै प्रधानमन्त्री देउवाले असार २९ मा आफूसँगै चार मन्त्रीको शपथ गराएका थिए । त्यसपछि देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्ति गरे । तर, मन्त्रीपरिषद्लाई पूर्णता दिनभने सकिरहेका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस