विवाह भोजमा चट्याङ पर्दा सोह्रको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विवाह भोजमा चट्याङ पर्दा सोह्रको मृत्यु


२१ श्रावण २०७८, बिहिबार


ढाका । बङ्गलादेशमा एउटा विवाह भोज कार्यक्रमका लागि जाने क्रममा चट्याङ पर्दा सहभागी १६ जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीका अनुसार सो घटनामा परी बेहुलासहित अरु केही व्यक्ति भने घाइते भएको जनाइएको छ ।

उत्तरी बङ्गलादेशको शिवगन्जमा रहेको पद्मा नदीमा एउटा डुङ्गाबाट ओर्लिएर बेहुला पक्षका जन्ती बेहुलीको घरतिर जाने क्रममा आँधीबेहरीसहितको वर्षा भएको र उनीहरूमाथि चट्याङ खसेको स्थानीय बासिन्दाले बताएका छन् ।

एक स्थानीय अधिकारीले बेहुला र बेहुली सुन्दरपुरका बासिन्दा भएको जानकारी दिएका छन् । दुलही विवाह समारोहमा उपस्थिति भई नसकेकीले कुनै असर नपरेको स्थानीय अधिकारी शकिब–अल–राबीले जानकारी दिएका छन् ।

हाल केही दिनयता भीषण मनसुनी आँधीबेहरीसहितको वर्षाले बङ्गलादेशलाई प्रभावित पारेको छ । कोक्सबजारको दक्षिण पूर्वी जिल्लामा एक हप्तादेखि परेको अविरल वर्षाका कारण रोहिङ्ग्या शरणार्थीसहित २० जनाको मृत्यु भएको छ ।

दक्षिण एसियामा प्रत्येक वर्ष चट्याङका कारण सयौँ मानिसको मृत्यु हुने गरेको छ । बङ्गलादेशले सन् २०१६ मा चट्याङलाई राष्ट्रिय प्राकृतिक विपत्ति घोषणा गरेको थियो ।

सो वर्ष मे महिनामा चट्याङका कारण २०० जनाको मृत्यु भएको थियो । त्यति बेला एकै दिन ८२ जनाको चट्याङ लागेर ज्यान गएको थियो ।

मौसमविद्का अनुसार उत्तर तथा पश्चिम बङ्गलादेशमा बढी चट्याङ पर्ने सम्भावना भएका क्षेत्र हुन् । गर्मी याममा तापक्रम बढ्दा त्यहाँ चट्याङ पर्ने सम्भावना अझ बढ्ने गरेको पाइन्छ ।

सरकारले चट्याङसम्बन्धी पूर्व चेतावनी दिन तथा क्षतिबाट जोगाउन सकिन्छ कि भनेर परीक्षणका रूपमा चट्याङ पत्ता लगाउन सक्ने क्षमता भएका सेन्सर देशका छ वटा स्थानमा जडान गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस