महिलाको नाममा जग्गा नामसारी गर्ने बढे « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

महिलाको नाममा जग्गा नामसारी गर्ने बढे


२० श्रावण २०७८, बुधबार


खलङ्गा । जुम्लामा महिलाको नाममा जग्गा नामसारी गर्नेको सङ्ख्या बढेको छ । मालपोत कार्यालय जुम्लाका अनुसार गत आर्थिक वर्षमा २६३ जना महिलाको नाममा जग्गा नामसारी भएको कार्यालय प्रमुख नरेन्द्रबहादुर रोकायाले बताए । सो नाममा रु १३ लाख ३८ हजार ९९९ राजश्वमा छुट दिइएको छ ।

चन्दननाथ नगरपालिकाभित्रका ११८ महिलालाई २५ प्रतिशत र स्थानीय तहका १४५ महिलालाई ५० प्रतिशत रकम राजस्वमा छुट दिएको कार्यालय प्रमुख रोकायाले बताए । राजस्व कम लाग्ने भएकाले महिलाको नाममा जग्गा नामसारी गर्नेको सङ्ख्या बढेको छ ।

दलितले जग्गा नामसारी गर्दा २५ प्रतिशत राजस्वमा छुट दिइएको छ । अपाङ्गता भएका व्यक्ति र वृद्धलाई २५ प्रतिशत राजस्वमा छुट दिएको कार्यालय प्रमुख रोकायाले बताए । सो कार्यालयमा हुने भीडलाई मध्यनजर गर्दे टोकन प्रणाली लागू गरेबाट सेवा प्रवाहमा सहज भएको कार्यालयले जनाएको छ ।

टोकन प्रणालीबाट सेवा उपलब्ध हुने दिन तोकिएको हुनाले काम नहुने दिनमा सेवाग्राहीलाई आउन नपर्ने कार्यालयले जनाएको छ । टोकन प्रणाली लागू भएबाट जग्गा नामसारी प्राविधिक समस्या नभएमा एकै दिनमा लालपुर्जा दिने गरिएको छ । मालपोत कार्यालय भनेको समयमै सेवा पाइँदैन र काममा ढिलासुस्ती हुन्छ भन्ने भ्रमलाई चिर्नको लागि टोकन प्रणाली लागू गरिएको मालपोत कार्यालय जुम्लाले जनाएको छ ।

मालपोत कार्यालय जुम्लाले गएको आर्थिक वर्ष २०७७/७८ मा रु एक करोड ९१ लाख ९६ हजार २३५ राजस्व सङ्कलन गरेको छ । जग्गा नामसारी, संशोधन, रोक्का, अंशवण्डा लगायतका विभिन्न शीर्षकमा राजस्व सङ्कलन भएको कार्यालयले गरेको छ । सङ्कलन भएको राजस्वमध्ये ४० प्रतिशत प्रदेशमा र ६० प्रतिशत राजस्व कारोबार भएको स्थानीय तहको खातामा जम्मा हुने गरेको मालपोत कार्यालय जुम्लाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस