सहसचिवको प्रश्न पत्रमा उपसचिवको आपत्ति ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सहसचिवको प्रश्न पत्रमा उपसचिवको आपत्ति !


१९ श्रावण २०७८, मंगलबार


काठमाडौँ । सहसचिवको पश्नपत्रबारे उपसचिवहरूले आपत्ति जनाएका छन् ।

लोक सेवा आयोगले अहिले सञ्चालन गरिरहेको सहसचिवको परीक्षामा सोधिएका प्रश्नहरू सहसचिवका लागि नभई नासु स्तरमा सोधिने खालका प्रश्नहरू रहेको र घोकन्तेले लेख्ने खालको रहेको भन्दै आपत्ति जनाएका हुन् ।

एकातिर अनुभव र निर्णायक क्षमता नै भएन भन्ने, अर्कोतिर घोकन्ते प्रश्न सोध्ने ? परीक्षामा सहभागी एक उपसचिवले भने, -‘नीति निर्माण तहमा महत्त्वपूर्ण भूमिका रहने सहसचिवलाई सोध्ने प्रश्न यस्तै हुन्छन् र ?’

पछिल्लो समय होटेल तथा ट्युसन सेन्टरहरूमा लिइने बुलेट कोर्ष निकै चर्चामा छ । जहाँ कसरी पास हुने र प्रश्नको उत्तर कसरी लेख्ने भन्ने त घोकाइन्छ तर सेवा प्रवाह कसरी दिने भन्नेबारे स्वयं सिकाउनेले नै जानेका हुँदैनन् ।

समसामयिक परिवेशमा देखिएका घटनाक्रमहरूलाई समाधानात्मक ढङ्गबाट रचनात्मकता आउने भन्दापनि परिभाषा दर्साउने खालका प्रश्नहरू भएको उनीहरूको भनाई छ । ‘किताब घोक्ने र ट्युसन पढेर लेख्नेभन्दा पनि अनुभव र क्षमता जाँच गर्ने खालका प्रश्न आइदिएको भए अहिलेका सहसचिवहरूमा निर्णायक क्षमता नै छैन भन्ने गुनासो बिस्तारै कम हुँदै जाने थियो’ अर्का एक उपसचिव भन्छन् ।

गत साता मात्रै आयोगले विभिन्न सेवा/समूह, राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरह(अप्राविधिक) पदको आन्तरिक प्रतियोगितात्मक(संयुक्त) लिखितको पहिलो र दोस्रो पत्रको परीक्षा लिएको थियो । दुवै पत्रको परीक्षा पछि सहभागीहरूले प्रश्नपत्रबारे गुनासो गरेका हुन् ।

गोपनीयताका कारण आयोगले लिने हरेक परीक्षाका प्रश्नपत्रहरु जटिल प्रक्रियाबाट तयार पारिने भएपनि प्रश्नावली तयार गर्दा नै कमजोरी भएको हुन सक्ने आयोग स्रोतको भनाई छ । ‘प्रश्नहरू अहिलेको प्रशासनिक जटिलताहरूलाई समाधान गर्ने गरी आउनु पर्नेमा त्यसरी नआएको आफूलाई पनि गुनासो आएको’ ती अधिकारीले प्रशासनलाई भने ।

आयोगका सूचीमा भएका व्यक्तिहरूमध्येबाटै प्रश्नपत्र बनाउन दिने भएपनि यसअघि सहसचिवको लागि प्रश्न पत्र बनाउँदा भने सोही अनुसारको अनुभव रहेका व्यक्तिहरूमध्येबाट प्रश्न बनाउन दिँदै आइएको थियो । प्रश्न बनाउँदा ज्ञानको उत्तिकै आवश्यकता हुने एक पूर्व अधिकारी बताउँछन् ।

‘सहसचिव तहको प्रश्न पत्र बनाउनु छ तर नलेज उपसचिव जतिको पनि छैन भने त्यस्ता व्यक्तिलाई प्रश्न पत्र बनाउन दिएर के गर्ने ?’ ती अधिकारीले भने -‘पद मात्रै भएर हुँदैन, त्यसका लागि आफैले अध्ययन गरेको, प्रशासनिक समाजले पत्याएको तथा आफै सहसचिवमा लिखितबाट लोक सेवा पास गरेको हुनुपर्छ ।’

सरल प्रश्न आउँदा जसले पनि लेख्न सक्ने भएकोले जो पनि पास हुने अवस्था रहन्छ । ‘स्तरीय प्रश्न नहुँदा अनुमान नै नगरेको व्यक्ति पास हुन्छ’ अर्का एक अधिकारीले भने ‘त्यस्ता व्यक्तिहरू पदमा पुगेपछि निर्णायक क्षमता देखिने कुरै भएन ।’

घोक्ने र ट्युसन सेन्टरमा जाने मान्छे मात्रै भित्रिए भनेर आयोगका तत्कालीन अध्यक्ष उमेश प्रसाद मैनाली नेतृत्वको टिमले प्रश्न मात्र नसोधेर समस्या सोध्ने गरी कोर्ष नै परिवर्तन गरेको थियो । जसमा अहिले ४ वटा समस्याहरू सोधिन्छ । तीन वटा पेपरमा १२ वटा प्रश्नहरू रहन्छन् । र, त्यसको दुई-दुई जनाबाट परीक्षण गराउँदा २४ जना त कपी चेकमा मात्रै सहभागी हुन्छन् । जसको एभरेजबाट आउने नम्बरबाट सहसचिव पास गर्ने सिस्टम रहेको छ ।

कार्यालयमै कपी जाँच गर्ने, दुई जनाबाट परीक्षण गराउने र प्रश्न नसोधी समस्या समाधान गर्न लगाउने जस्ता कार्यहरू अत्यन्तै प्रशंसनीय भए पनि लिखित परीक्षाको प्रश्न पत्र बनाउँदा पनि सोही अनुसारको वजन हुन जरुरी छ । साख खस्किँदै गएको निजामतीमा क्रिम व्यक्तिहरू आउन् भन्नका लागि अपनाइएका प्रक्रियाहरूलाई झन् जति मजबुत बनाउँदै लैजान सकियो, त्यति नै निजामतीमा राम्रा कर्मचारी भित्रिने भएकोले परीक्षाका सबै प्रक्रियाहरू पनि सोहीअनुसार लैजान सक्नुपर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस