अर्थ सचिव मरासिनीले गरे पद बहाली, यस्ता छन् आगामी चुनौती « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

अर्थ सचिव मरासिनीले गरे पद बहाली, यस्ता छन् आगामी चुनौती


१८ श्रावण २०७८, सोमबार


काठमाडौँ । नवनियुक्त अर्थ सचिव मधुकुमार मरासिनीले पद बहाली गरेका छन् । सरकारले गत साता महालेखा कार्यालयबाट अर्थ मन्त्रालयमा सरुवा गरेका मरासिनीको आज(सोमबार) एक कार्यक्रमका बिच स्वागत गरिएको छ ।

अर्थका क्याडर मरासिनीले २५ वर्ष अर्थ मन्त्रालय तथा अन्तर्गतका निकायमा बिताएका छन् । सो क्रममा वैदेशिक सहायता महाशाखा, बजेट महाशाखा(उपसचिव र सहसचिव), आन्तरिक राजश्व विभागको उपमहानिर्देशक, सम्पत्ति शुद्धीकरण विभाग, महालेखा नियन्त्रक लगायतमा काम गरेका छन् । केही समय उद्योग वाणिज्य र योजना आयोगमासमेत काम गरेका मरासिनीले विश्व बैङ्क वासिंङटनमा र नेपालको महावाणिज्य दूत भएर न्यूअर्कमासमेत काम गरी सकेका छन् ।

नेपालमा कर सुधारको सुरुवातदेखि नै सक्रिय मरासिनीले भूकम्पपछि पुननिर्माणका लागि गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमासमेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । तत्कालीन अवस्थामा चार सय १० अरब अन्तर्राष्ट्रिय सहायता ल्याउन मरासिनीले प्रमुख भूमिका खेलेका थिए । महालेखा नियन्त्रकको कार्यालयमा रहँदा पनि उनले पेन्सनबाटै सरकारको वार्षिक ५५ करोड रुपैयाँ जोगाउनसमेत सफल भएका छन् ।

अर्थ सचिव मरासिनीका लागि अबको चुनौती भनेको सरकारले सबै नेपालीलाई जति सक्दो चाँडो खोप लगाइसक्ने घोषणालाई साकार पार्न रकम सुनिश्चित गर्ने र अन्तर्राष्ट्रिय दाताहरूसँग पनि सहयोग जुटाउनु रहेको छ भने महामारीले थला परेको अर्थतन्त्रलाई कसरी लयमा फर्काउने भन्ने अर्को ठुलो चुनौती छ ।

यसैगरी बजेट कार्यान्वयनका क्रममा समयमै पुँजीगत खर्च नहुनेदेखि त्यसमा सुधार गर्ने कुराहरू रहेका छन् । वित्तीय क्षेत्रको स्थायित्वदेखि रोजगारी वृद्धि गर्नेदेखि व्यापार घाटासम्मका पक्षमा पनि नीतिगत सुधार पनि उत्तिकै चुनौती देखिन्छ ।

यी सबैका बाबजुद पनि अस्थिर राजनीतिक परिस्थितिका बिच अर्थ जस्तो महत्वपूर्ण मन्त्रालयलाई कुशलतापूर्वक ढंगले अघि बढाउनु रहेको छ ।

मरासिनीले अस्ट्रेलियन नेशनल युनिभर्सिटी, अस्ट्रेलियाबाट इन्टरनेशनल एन्ड डेभलपमेन्ट इकोनोमिक्समा मास्टर्स डिग्री हासिल गरेका छन् भने हार्भड युनिभर्सिटीबाट फिसकल पोसिलीमा एक्जुकेटिभ एजुकेसन लिएका छन् । नेपालमा एलएलबी र पब्लिक एडमिनिष्ट्रेसनमा मास्टर्स गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस