विदुर नगरपालिकाको कार्यालयमा तोडफोड « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विदुर नगरपालिकाको कार्यालयमा तोडफोड


१८ श्रावण २०७८, सोमबार


त्रिशूली । नुवाकोटको विदुर नगपालिकामार्फत सञ्चालित ‘सुन्तला जात फलफूल पकेट विकास कार्यक्रम’ मा अनियमितता भएको भन्दै वडाध्यक्षहरूबाटै नगरपालिकामा तोडफोड गरिएको छ । नेकपा (एमाले)बाट निर्वाचन नगरप्रमुख सञ्जु पण्डितको सिफारिसमा वडा नं १३ मा सञ्चालित ‘पकेट विकास कार्यक्रम’मा तोकिएअनुसार सुन्तला र कागतीको बिरुवा वितरण नभएको पाइए पनि बजेट भुक्तानी गरेको विरोधमा नेपाली कांग्रेस समर्थित छजना वडाध्यक्षहरूको नेतृत्वमा नगरपालिकामा तोडफोड गरिएको हो ।

ढुङ्गा प्रहारबाट नगरपालिकाको झ्यालका सिसाहरू, विद्युतीय सूचना बोर्डलगायत बाहिरी संरचनासमेत गरेर रु एक लाख बराबरको क्षति पुगेको नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

नगरपालिका तोडफोडका क्रममा भएको झडपमा दुईजना प्रहरीसहित चारजना घाइते भएका छन् । पकेट विकास कार्यक्रमका लागि विना प्रतिस्पर्धा नेकपा एमालेबाट १३ नंं का वडाध्यक्षमा पारजित नानीकाजी खड्का अध्यक्ष रहेको ‘कल्याणपुर कृषि सुधार बहुउद्देश्य सहकारी’ मार्फत काम गरेको, फर्जी कागज बनाएर रु १३ लाख बजेटबाट पहिलो चरणमा साउन १४ मा रु छ लाख ९८ हजार भुक्तानी दिएकाले विरोध गर्नु परेको वडाध्यल दलबहादुर तामाङले बताए ।

पकेट कार्यक्रममा अनियमितता भएको उजुरी दिँदासमेत बजेट भुक्तानी भएपछि त्यसको जानकारी माग गर्न आउँदा प्रहरीबाट धरपकड भएकाले झडपको अवस्था आउनु दुःखद अवस्था सिर्जना भएको उनको भनाइ छ ।

सुन्तला जात फलफूल पकेट विकास कार्यक्रमको लागि रु १३ लाखको कार्यक्रममा तोकिएको सङ्ख्याभन्दा निकै कम बिरुवा वितरण भएकाले रकम भुक्तानी नहुने बताए पनि भएको कामका आधारमा एवम् स्थलगत मूल्याङ्कनमार्फत भुक्तानी दिइएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले जानकारी दिए । उक्त कार्यक्रमको सम्बन्धमा यसअघि कामको प्रभावकारी नभएको उजुरी परेकाले स्थलगत छानबिनमा कैफियत पाइएसँगै बजेट भुक्तानी रोकिँदै आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस