लुम्बिनीमा विपक्षी गठबन्धनद्वारा बहुमतको सरकार गठनको आह्वान गर्न प्रदेश प्रमुखसमक्ष माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

लुम्बिनीमा विपक्षी गठबन्धनद्वारा बहुमतको सरकार गठनको आह्वान गर्न प्रदेश प्रमुखसमक्ष माग


१८ श्रावण २०७८, सोमबार


बुटवल । लुम्बिनी प्रदेशको विपक्षी गठबन्धनले नयाँ सरकार गठनको आह्वान गर्न प्रदेश प्रमुखसमक्ष माग गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको एमाले सरकार अल्पमतमा रहेको भन्दै वर्तमान संविधानको धारा १६८(२)अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउन सोमबार प्रदेश अमिक शेरचनसमक्ष विपक्षी गठबन्धनका तर्फबाट लिखित पत्र बुझाइएको हो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संसदीय दलका नेताले संयुक्तरुपमा प्रदेश प्रमुख शेरचनलाई सोमबार निवेदन बुझाएका छन् ।

प्रदेश सभामा ३८ सदस्य रहेको एमालेले संविधानको धारा १६८ को १ अनुसार सरकार चलाउने वैधता गुमाएको भन्दै गठबन्धनले प्रदेश प्रमुखले संविधान र संसदीय प्रणालीको मर्मअनुसार अर्को सरकार गठन प्रक्रिया थाल्नुपर्ने बताएका छन् । हाल प्रदेश सभामा कुनै दलको स्पष्ट बहुमत नभएकाले संविधानविपरीत रहेकाले संविधानको धारा १६८ को २ अनुसारको सरकार गठनका लागि आह्वान गर्नुपर्ने निवेदनमा उल्लेख छ ।

पत्र बुझाउँदै कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कानोडियाले संविधानको रक्षा गर्ने प्रदेश प्रमुखको जिम्मेवारी भएकाले उनीबाटै प्रक्रिया थाल्न आह्वानपत्र बुझाएको बताए ।

माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले संविधानको धारा १६८ को २ अनुसारको सरकार गठनका लागि छोटो बाटो अपनाउन प्रदेश प्रमुखलाई आह्वान पत्र बुझाएको बताए ।

आह्वान पत्रमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितका दलका ४१ सांसदको हस्ताक्षर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस