डोटेली नास्पातीकाे माग बढ्दो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

डोटेली नास्पातीकाे माग बढ्दो


१८ श्रावण २०७८, सोमबार


डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ४ सानागाउँमा मेलको बोटमा उत्पादन भएको अर्ग्यानिक डोटेली नास्पाती बजारमा आएको छ ।

दस वर्षअघि तत्कालीन जिल्ला कृषि विकास कार्यालय डोटीले मेलका बोटमा कलमी गरेर नास्पाती बनाएका थिए । कलमी बनाइएका मेलका बोटमा विगत ४, ५ वर्षदेखि नास्पाती फल्न थालेपछि नास्पातीको माग डोटीमा मात्र नभई धनगढीबाट पनि आउन थालेको स्थानीय कृषकहरू बताउँछन् ।

सुरुमा नास्पाती भन्ने बित्तिकै यसको के महत्त्व छ, नास्पाती किनेर पनि कोही खान्छ र ? भन्ने जस्तो लाग्थ्यो जब यसको महत्त्व र माग बढ्न थाले पनि गाउँटोलमा सबैले चासो देखाउने गरेको स्थानीय कृषक सरस्वती जोशीले बताइन् । उनले मात्र यस वर्ष एक सय ४० केजी नास्पाती बिक्री गरिसकेकी छन् । करिब करिब एक सय केजी जति अझै बिक्री गर्न बाँकी छ ।

उनी मात्र होइनन् अर्का कृषक मङ्गला खड्काले पनि खुसी व्यक्त गर्दै नास्पातीको माग बढेका कारण घर धन्दा चलाउन सहज भएको बताइन् । उनले भनिन् सुरु–सुरुमा नास्पातीबाट पनि के आम्दानी होला र यस्तो फल पनि किनेर को खान्छ ? जस्तो लाग्थ्यो तर अहिले यसको माग बढ्दो यसको खेतीप्रति आकर्षण भएकी बताइन् । उनले यस वर्षमात्र चार सय ८० केजी नास्पाती बिक्री गरिसकेकी छन् भने करिब ५० केजी जति अझै बिक्री गर्न बाकी रहेको बताइन् ।

स्थानीयस्तरमा उत्पादन हुने फलफूललाई स्थानीय सरकार लगायत सम्बन्धित निकायले बजारीकरणमा विशेष ध्यान दिनुपर्ने डोटी जिल्लाकी सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन् । उनले भनिन्‘डोटीको सानागाँउ जस्तो ठाउँमा मेलमा कलमी गरेर नास्पाती फल्नु भनेको यस क्षेत्रका किसानहरूको लागि खुसीको कुरा र सम्भावना युक्त ठाउँ छ ।’ उनले यसको प्रवर्द्धन र बजारीकरणमा आफ्नो पनि सहयोग रहने बताइन् ।

मेलका बोटमा कलमी गरेर नास्पाती फल्न थालेपछि किसानहरू आफ्नो खेतबारीमा मेलका बोटहरू छन् की छैनन् भनेर खोजीनिती गर्न थालेका पूर्वीचौकी गाउँपालिकाका कृषि शाखाका प्रमुख उदयराम साउदले बताए ।

आफै उम्रिएका मेलका बोटलाई कलमी बनाउँदा यसबाट फल्ने फलस शुद्ध अर्ग्यानिक भएकाले विश्व बजारमै राम्रो बजार पाउन सक्ने कृर्षि ज्ञान केन्द्र डोटीका निमित्त प्रमुख नरेन्द्र पनेरुले बताए । उनले भने,‘नास्पातीको बजारीकरणको लागि ज्ञान केन्द्रले सहयोग गर्ने छ, यस वर्ष पनि ज्ञान केन्द्रको समन्वय र सहयोगमा एक हजार केजी नास्पाती एस एमटी फलफूल प्रशोधन केन्द्र धनगढीलाई पठाइएको छ ।’

पूर्वीचौकी गाउँपालिका हरेक कुराले सम्भावनाले भरपूर्ण गाउँपालिका रहेको गाउँपालिकाका अध्यक्ष दीर्घ बोगटीले बताए । उनले स्थानीय स्तरमा उत्पादन हुने कृर्षि उपजका सम्पूर्ण चिज वस्तुलाई बजारीकरणमा गाउँपालिकाको पनि पूर्ण सहयोग रहने बताए ।

सानागाउँमा फलेको नास्पातीलाई बजार सम्म जोड्न कृर्षि ज्ञान केन्द्र र कृर्षि विकास निर्देशनालयले गरेको पहल कदमीले गाउँपालिकाकालाई पनि सहयोग पुगेको बताए । आगामी दिनमा पनि नियमित समन्वय सहयोग रहने बताए । पूर्वीचौकी गाउँपालिकामा उत्पादन हुने नास्पाती मात्र नभएर कृर्षि उपजका सबै चिज वस्तुलाई बाहिर निर्यातमा सहयोग गर्ने गाउँपालिकाको नीति रहेकोसमेत अध्यक्ष बोगटीले बताए ।

दश वर्ष पहिले तत्कालीन जिल्ला कृर्षि विकास कार्यालयको सहयोगमा पूर्वीचौकी गाउँपालिका भरि करिब एक सय वटा मेलका बोटमा कलमी गरिएको थियो भने दुई सय बोट नयाँ लगाएको थियो । तत्कालीन समयमा फर्मिङ, गोसाईं र कोसाई जातको बोटाहरुलाई मेलमा कलमी गरिएको थियो । किसानहरूले उत्पादन गरेको नास्पातीलाई अहिले रु २५ देखि ६० रुपियाँसम्म प्रति केजी बिक्री गर्ने गरेको छ । प्रति बोटमा ३ देखि ५ क्विन्टलसम्म फल्ने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस