सबै जनताले कोरोना विरुद्धको भ्याक्सिन लगाएपछि अस्ट्रेलियामा प्रतिबन्ध हट्ने : प्रधानमन्त्री मोरिसन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सबै जनताले कोरोना विरुद्धको भ्याक्सिन लगाएपछि अस्ट्रेलियामा प्रतिबन्ध हट्ने : प्रधानमन्त्री मोरिसन


१७ श्रावण २०७८, आइतबार


सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सबै अस्ट्रेलियनले कोरोना विरुद्धको भ्याक्सिन लगाइसकेपछि सीमा प्रतिबन्ध हटाउने बताएका छन्।

राज्य तथा प्रादेशिक सरकार प्रमुखबिच बसेको राष्ट्रिय मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री स्कट मोरिसनले कुल जनसङ्ख्याको ७० प्रतिशतले पूर्ण रूपमा खोप लगाइसकेपछि लकडाउन तथा अस्ट्रेलियाको आन्तरिक सीमामा लागू प्रतिबन्धहरू हट्ने र सबै नागरिकले लगाइसकेपछि पूर्ण रूपमा सीमा प्रतिबन्ध हट्ने बताएका हुन्।

पछिल्लो समय समुदाय स्तरमा कोरोनाभाइरस फैलिएको भन्दै अस्ट्रेलियाले लकडाउन कडा पार्नुका साथै सबै सिमाहरू बन्द गरेको छ।

‘कुल जनसख्याको ७० प्रतिशतले खोपको दुवै मात्रा पुरा गरिसकेपछि अस्ट्रेलिया कोरोनाभाइरस विरुद्धको प्रतिक्रियात्मक चरणको दोस्रो खुड्किला उक्लने छ र सीमा सम्बन्धी नियमहरु खुकुलो बनाइने छ’, प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा भने।

उनले यसका लागि सबै जनताले खोप लगाउने कुरामा जतिसक्दो चाँडो हातेमालो गर्नुपर्ने बताए। प्रधानमन्त्री मोरिसनका अनुसार कोभिड–१९ विरुद्धको दोस्रो चरणमा विषम परिस्थितिमा लकडाउन हुने सम्भावना भने कायमै रहेको छ। यदि कोरोनाको प्रभावले समुदायमा नराम्रो असर पर्न थाल्यो भने लकडाउन लगायतका प्रतिबन्धहरु जारी रहने प्रधानमन्त्री मोरिसनले भने।

यसै क्रममा अन्तर्राष्ट्रिय आगमनमा सङ्ख्या पुन ६ हजार प्रति सप्ताहका दरसम्म पुर्‍याइने र पूर्ण खोप लगाइसकेका घर फर्किने अस्ट्रेलियालीलाई विशेष ग्राहयता प्रदान गरिने प्रधानमन्त्री मोरिसनको भनाई छ।

प्रधानमन्त्री मोरिसनले अस्ट्रेलियामा खोप लगाएका मानिसलाई विशेष सुविधा उपलब्ध गराइने सरकारको नीति रहेकोसमेत स्पष्ट पारे।

‘खोप लगाएको व्यक्तिमा जोखिम कम हुने भएकाले उनीहरूलाई यात्रा, कामलगायतका विषयमा विशेष सुविधा प्राप्त गर्न सक्छन्,’ उनले भने, ‘यसबाट सङ्क्रमणको खतरासमेत कम रहने र व्यक्तिगत जोखिम कम हुने हुनाले सरकारले यस किसिमको योजना अगाडि सार्न लागेको हो।’

देश तेस्रो चरणमा प्रवेश गरिसकेपछि भने घर फर्किन चाहने र खोपको पुरै मात्रा लगाइसकेका अस्ट्रेलियालीको सङ्ख्यामा कुनै सीमा नतोकिने प्रधानमन्त्री मोरिसनले जानकारी गराए।

खोपलाई तीव्रता दिने क्रममा सरकार लागि परेको भन्दै उनले सबै नागरिकलाई खोप लगाउने कार्यमा अग्रसर हुन आव्हानसमेत गरेका छन्।

हालसम्म अस्ट्रेलियामा लगभग १६ प्रतिशत जनताहरुले मात्र पूर्ण रूपमा दुवै खोप लगाएका छन्। थप १७ प्रतिशतले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएको तथ्याङ्कले देखाएको छ। यसरी यो वर्षको अन्तसम्म ८० प्रतिशत अस्ट्रेलिया जनतालाई पूर्ण रुपमा खोप लगाइसक्ने सरकारको लक्ष्य छ।

यसै गरी तेस्रो चरणमा विद्यार्थी, आर्थिक तथा अन्य भिसा वाहकका लागि पनि अस्ट्रेलिया प्रवेशको बाटो खोलिने प्रधानमन्त्री स्कट मोरिसनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस