भरतपुर अस्पताल भरियो कोरोना सङ्क्रमितले « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भरतपुर अस्पताल भरियो कोरोना सङ्क्रमितले


१७ श्रावण २०७८, आइतबार


चितवन । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको हो । सङ्घीय अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण भएका बिरामीको निःशुल्क उपचार हुन्छ ।

अस्पतालमा कोभिड सङ्क्रमितको उपचारका लागि छुट्टाइएको शय्या भरिएका छन् । अस्पतालले अहिले कोभिडका लागि ११० शय्या छुट्टाएको छ । तीमध्ये अहिले १०४ शय्या सङ्क्रमितले भरिएका छन् । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार शुक्रवार अस्पतालमा भर्ना हुने बिरामीको सङ्ख्या ११२ पुगेको थियो । अहिले अस्पतालमा १०४ सङ्क्रमित छन् । अस्पतालमा ५८ जना सामान्य तथा मध्यम लक्षण भएका बिरामी रहेको उनले बताए । पच्चीस एचडीयूमा तथा २१ जना सघन उपचार कक्षमा उपचाररत छन् । अस्पतालमा २५ शय्या क्षमताको सघन उपचार कक्ष छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेलले पछिल्लो समय स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याइँ गर्दा सङ्क्रमित बढ्दै गएको बताए। उनले अस्पतालको शय्या भरिएकाले थप बिरामी भर्ना गर्न नसकिने अवस्था रहेको जानकारी दिए । उनले भने, ‘अस्पतालमा कोभिडका लागि छुट्टाइएको शय्या भरिएको छ । अरु सङ्क्रमितलाई भर्ना लिन सक्ने अवस्था छैन ।’

अस्पतालमा रहेका शय्या सङ्क्रमितले भरिएपछि शय्या थप गर्ने विषयमा छलफल सुरु भएको उनको भनाइ छ । सङ्क्रमणदर बढ्दै गएपछि निजी अस्पतालहरुले पनि कोभिडको उपचार गर्नुपर्ने उनले बताए। उनले भने, ‘महामारी त सबैलाई होला नि, सरकारी अस्पताललाई मात्रै त होइन । महामारीमा सबै अस्पतालले आफ्नो दायित्व पूरा गर्नुपर्‍यो।’ सङ्क्रमित बढ्दै गएसँगै चिकित्सकहरुलाई शय्या मिलाइदिनका लागि फोन आउन थालेको उनले बताए।

अहिले जिल्लामा भरतपुर अस्पतालसँगै चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्स शिक्षण अस्पताल ९पुरानो मेडिकल कलेज०मा कोरोना सङ्क्रमित बिरामीको उपचार भइरहेको छ । ती अस्पतालमा २१० जनाको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार चितवन मेडिकल कलेजमा ५८ जनाको उपचार भइरहेको छ । तीमध्ये २९ जना सघन उपचार कक्षमा छन् भने एचडीयूमा पनि समान २९ जनाको उपचार भइरहेको छ । यस्तै पुरानो मेडिकल कलेजमा १४ जना सघन उपचार कक्षमा उपचाररत छन् ।

कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा हालसम्म दुई हजार २३६ सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये दुई हजार १०६ होम आइसोलेसनमा, आठ सार्वजनिक आइसोलेसनमा र १२२ जना अस्पतालमा उपचाररत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस