दार्चुला घटना प्रकरणमा भारतीय दूतावाससँग स्पष्टीकरण लिन वाइसिएलको माग « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दार्चुला घटना प्रकरणमा भारतीय दूतावाससँग स्पष्टीकरण लिन वाइसिएलको माग


१६ श्रावण २०७८, शनिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)ले दार्चुला घटनाका सम्बन्धमा भारतीय राजदूतावाससँग स्पष्टीकरण लिन सरकारसँग माग गरेको छ ।

शनिबार सो संगठनले एक विज्ञप्ति जारी गरी संगठनले भारतीय सुरक्षा फौजबाट गरिएको ज्यादतीको यथार्थ छानविन गरी कुटनीतिक स्तरबाट देशको स्वाभिमान र नागरिक जीवनको सुरक्षा एवम् मृतक र तुइन काण्डबाट पीडित नागरिकको अभिभावकत्व र यथोचित क्षतिपूर्ति उपलव्ध गराउन समेत माग गरेको हो ।

शुक्रबार बिहान साढे ८ बजे दार्चुलाको व्यास गाउँपालिका, वडा नं. २ स्थित मालघाटबाट सोही स्थान निवासी ३० वर्षीय जयसिंह धामी भारतको पिथौरागढस्थित पांगल जाने सिलसिलामा तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बलले तुइनको डोरी झिकिदिएको बताइएको छ । त्यसपछि उनी महाकाली नदीमा डुबेर बेपत्ता भएका थिए ।

जिल्ला प्रशासन कार्यालय दार्चुुलाले उक्त घटनामा भारतीय पक्षसँग जानकारी माग गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्टले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाका विषयमा सत्यतथ्य जानकारी गराई आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउन भारतीय समकक्षीलाई पत्राचार गरिएको जानकारी दिएकी छन् ।

सो घटना अनुसन्धान र छानविनको क्रममा रहेको हुनाले दुई देशको सम्बन्धमा खलल पार्ने किसिमले प्रचार नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस