प्रहरी जवानको अन्तर्वार्तामा चार नक्कली परीक्षार्थी पक्राउ « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

प्रहरी जवानको अन्तर्वार्तामा चार नक्कली परीक्षार्थी पक्राउ


१६ श्रावण २०७८, शनिबार


डोटी । डोटीमा प्रहरी जवान पदको भर्नाको अन्तर्वार्तामा सहभागी भएका चार जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

प्रहरी तालिम केन्द्र दिपायलमा अन्तर्वार्ता दिन पुगेका दुई जनालाई शुक्रवार पक्राउ गरिएको हो भने एक जना १० गते र एक जना १४ गते पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जसमध्ये दुई जना कैलाली र दुई जना बझाङका रहेका छन् । उनीहरूले सक्कली परीक्षार्थीसँग न्यूनतम एक लाखदेखि दुई लाखसम्म रकम लिएर नक्कली परीक्षार्थी बनेका पाइएको प्रहरी श्रोतले जनाएको छ।

अन्तर्वार्ताका क्रममा शङ्कास्पद देखिएपछि पक्राउ परेका नक्कली परीक्षार्थी र रकम दिई अन्तर्वार्तामा अर्को व्यक्ति पठाउने दुवैलाई ‘किर्ते मुद्दामा’ आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर मल्लले बताए। लिखित परीक्षामा पनि नक्कली परीक्षार्थी फेला पर्दै आएकोमा अन्तर्वार्तामासमेत नक्कली परीक्षार्थी फेला पर्न थालेका छन् ।

अभिभावकहरूसमेतको लापरबाही र परीक्षाको आवश्यक तयारी गर्ने तरिका थाहा नपाई गलत बाटो रोज्दा उनीहरूको जीवन बरबाद हुने एवं आउँदा दिनमा पनि यसबाट नकारात्मक सन्देश जाने हुँदा सबैले सचेत रहन प्रहरी उपरीक्षक मल्लले सबैलाई आग्रह गरेका छन् ।

प्रहरी भर्ना हुँदा परीक्षा पास गर्ने आइडिया बारे रिटायर्ड प्रहरी अधिकृतहरू, वर्तमान सेवारत प्रहरी अधिकृतहरूबाट सहयोग लिएर परीक्षार्थीले स्वविवेकले परीक्षा दिनुपर्ने उनले बताए ।

प्रहरी तालीम केन्द्र दिपायलमा यही श्रावण ७ गतेदेखि १७ गतेसम्म प्रहरी भर्नाको अन्तर्वार्ता चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस