आगामी चैत मसान्तसम्म सबै नेपालीलाई खोप : स्वास्थ्य मन्त्रालय « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आगामी चैत मसान्तसम्म सबै नेपालीलाई खोप : स्वास्थ्य मन्त्रालय


१५ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । सरकारले चैत मसान्तसम्म सबै नेपालीलाई खोप लगाइने बताएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड विरुद्धको खोपको आयात, खोप अभियान र स्वास्थ्य पूर्वाधारबारेको विवरण सार्वजनिक गर्दै उक्त कुरा बताएको हो ।

नेपाललाई आवश्यक थप खोप चीनको सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिदको सम्झौता अगाडि बढासकेको मन्त्रालयले जनाएको छ । यसका साथै कोभ्याक्स सुविधाबाट जापान सरकारले अनुदानमा दिने १६ लाख र भारतबाट खरिद गरी बाँकी रहेको १० लाख डोज खोप प्राप्त हुँदा असोजभित्र १ करोड ८३ लाख ८२ हजार ८५० डोज प्राप्त हुने मन्त्रालयको आकलन छ ।

यसैगरी, कोभ्याक्सबाट लागत सहभागितामा खरिद गरी १ करोड ५० लाख डोज र १२ वर्षमाथिका बालबालिकालाई ६० लाख डोज फाइजरको खोपका लागि प्रक्रिया अगाडि बढिरहेको मन्त्रालयले जनाएको छ । गाभी कोभ्याक्सबाट निस्शुल्क २० प्रतिशत जनसंख्याको लागि प्राप्त हुने १ करोड १३ लाख डोज पनि प्राप्त हुँदा चैत मसान्तसम्म खोप सबै नेपालीहरुको पहुँचमा पुग्ने बताइएको हो ।

मन्त्रालयका अनुसार अहिलेसम्म ९७ लाख ८२ हजार ८५० डोज खोप प्राप्त भइसकेको छ । जसमध्ये चीनबाट अनुदानमा १८ लाख र खरिद सम्झौता भएका ४० लाख डोजसहित कुल ५८ लाख डोज भेरोसेल खोप प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

यस्तै भारतबाट खरिद सम्झौता भएका १० लाख, अनुदानबाट ११ लाख, कोभ्याक्ससुविधानमार्फत ३ लाख ४८ हजार गरी कुल २४ लाख ४८ हजार डोज कोभिशिल्ड खोप प्राप्त भइसकेको छ ।
यस्तै अमेरिकाबाट अनुदानमा जोनसन एण्ड जोनसनको १५ लाख ३४ हजार ८५० डोज खोप प्राप्त भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस