बागलुङको काठेखोलामा निर्माणाधीन खानेपानी आयोजना अलपत्र « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बागलुङको काठेखोलामा निर्माणाधीन खानेपानी आयोजना अलपत्र


१४ श्रावण २०७८, बिहिबार


गलकोट । बागलुङ नगरपालिका–३ काठेखोलामा निर्माणाधीन खानेपानी आयोजना अलपत्र परेको छ । काठेखोलाबाट लिफ्ट गरेर सञ्चालन गर्ने गरी काम शुरु भएको जिल्लाकै ठूलो लिफ्ट खानेपानी आयोजना अलपत्र परेको हो ।

आयोजना पूरा नहुँदा बागलुङ नगरपालिकामा खानेपानीको हाहाकार छ । दुई वर्षमा सक्ने गरी निर्माण शुरु भएको यो आयोजना तीन वर्ष बित्दासमेत आधा मात्रै काम सकिएको छ । बागलुङ नगरपालिकामा चौबीसै घण्टा शुद्ध खानेपानी वितरण गर्ने उद्देश्यले खानेपानी तथा ढल व्यवस्थापन विभाग र स्थानीय साझेदारीमा शुरु गरिएको आयोजना तीन वर्षदेखि अलपत्र छ ।

दुई वर्षमा सम्पन्न गर्ने गरी २०७५ असार ३१ गते ३२ करोड २५ लाख रुपैयाँको लागतमा कन्काई जयमाता जेबीले ठेक्का सम्झौता गरी निर्माण थालिएको आयोजनाको काम तीन वर्ष बित्दासमेत सकिएको छैन । यही गतिमा आयोजना बढेमा अझै एक वर्षमा समेत काठेखोलाको पानी बागलुङ बजारमा नआउने निश्चित भएको स्थानीयवासीको भनाइ छ ।

अहिले थोरै कामदारले आयोजनाको काम गरिरहेका छन् । ७० प्रतिशत नेपाल सरकार र ३० प्रतिशत स्थानीय श्रमदानबाट शुरु गरिएको आयोजनाको मुख्य काम प्रशोधन केन्द्र, पानी तान्ने मुख्य पाइप र विद्युतीकरणको काम अझै बाँकी छ ।

काठेखोलाको पानी तान्ने पाँचवटा समवेयल, आयोजना स्थलको पूर्वाधार तथा खानेपानी संकलन ट्यांकी निर्माण भइसकेको बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका प्रबन्धक हिमाल शर्माले जानकारी दिए । ‘दुई वर्षमा सकिने आयोजना तीन वर्षमा सकिएन, कोरोनाका कारण ६ महिनाको म्याद थप गराउने तयारीमा छौं,’ उनले भने, ‘भौगोलिक जटिलताका कारण आयोजना निर्माणमा ढिलाइ भएको छ ।’

प्राकृतिक प्रकोप र बाढी पहिरोका कारण आयोजनामा ठूलो क्षति हुँदा समस्या भएको भन्दै उनले आगामी ६ महिनामा आयोजनाको काम अन्तिम चरणमा पुग्ने बताए ।

बागलुङ बजारमा काठेखोला गाउँपालिकाको रशेह, भूदी र रिठेखोलाको पानी वितरण हुँदै आएको छ । नगरपालिकाको जनसंख्या वृद्धि भएपछि खानेपानीको समस्या बढ्दै जाँदा काठेखोलाको पानी लिफ्टमार्फत तानेर प्रशोधन गरी वितरण गर्ने उद्देश्य यस आयोजनाको छ । आयोजना स्थलमा सुरक्षित ड्याम तथा पहिरो संरक्षणका लागि थप ६ करोड रुपैयाँ लाग्ने अनुमान खानेपानी आयोजनाको छ ।

भौगोलिक रुपमा अध्ययन गर्दा केही त्रुटि भएकाले उक्त स्थानमा खानेपानी आयोजना बन्नेमै आशंका रहेको स्थानीयवासीको गुनासो छ । आयोजना निर्माण स्थलभन्दा माथि रहेको बागलुङ बजारको बस्ती चर्किने, भासिने तथा पहिरो जाने भइरहेको छ ।

यो लिफ्ट खानेपानी आयोजनाका कारण यतिबेला बागलुङ बजारका एक दर्जन घर पहिरोको उच्च जोखिममा परेको बागलुङ नगरपालिकाका–३ का वडाध्यक्ष लक्ष्मी बास्कोटाले बताए । नगरपालिकाको १, २ र ३ नम्बर वडाका बासिन्दालाई खानेपानी पुर्‍याउने उद्देश्यले शुरु गरिएको आयोजनाको म्याद दुई पटक थप्दा समेत पूरा नहुनु दुःखद् भएको स्थानीयवासी नारायण श्रेष्ठको भनाइ छ ।

भौगोलिक अवस्थाका कारण आयोजना स्थलसम्म मेसिन, औजार लैजान समस्या परेको र पटक–पटकको पहिरोका कारण आयोजना निर्माणमा ढिलाइ भएको कन्काई जयमाता जेभीका इञ्जिनियर विक्रम अधिकारी बताउँछन् । ‘आयोजना समयमै सक्नुपर्ने हाम्रो अधिकतम प्रयास थियो, आयोजना ढिलो गरी सम्पन्न हुँदा कम्पनीलाई घाटा हुन्छ, आयोजना स्थलमा आएको पहिरोका कारण ठूलो नोक्सानी भएको छ हामीले सम्झौताभन्दा माथि गरेको निर्माणको थप रकम माग समेत गर्दै आएका छौं,’ उनले भने, ‘आगामी एक वर्षमा आयोजनाको निर्माण सम्पन्न गरिने हाम्रो लक्ष्य छ ।’ उनका अनुसार आयोजनाको समग्र प्रगति ६४ प्रतिशत छ ।

बागलुङ बजारमा खानेपानीको माग प्रतिसेकेण्ड ४० लिटर रहेकोमा अहिले प्रतिसेकेण्ड ३० लिटर मात्रै खानेपानी आपूर्ति हुँदै आएको छ । आयोजनाको निर्माण सम्पन्न भएपछि प्रतिसेकेण्ड ७० लिटर खानेपानी आपूर्ति हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस