निर्वाचनसम्बन्धी कानून संशोधन गरी समावेशी बनाउन सुझाव « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निर्वाचनसम्बन्धी कानून संशोधन गरी समावेशी बनाउन सुझाव


१४ श्रावण २०७८, बिहिबार


काठमाडौँ । सांसदहरुले निर्वाचनसम्बन्धी कानून संशोधन गरी समावेशी बनाउन सुझाव दिएका छन् ।

राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा सांसद र अधिकारकर्मीले समयाअनुकूल निर्वाचन ऐन संशोधन गरी समावेशी बनाउनुपर्ने सुझाव दिएका छन् ।

सांसद विन्दा पाण्डेले कानून संशोधन गरी ३० प्रतिशतको सट्टा ५० प्रतिशत महिला उम्मेदवार हुने व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । सांसद बिना श्रेष्ठले राज्यका हरेक संरचनामा ५० प्रतिशत महिलाको सहभागितालाई कानूनी रुपमा सुनिश्चित गर्नुपर्छ भनिन् ।

सांसद गोपी अछामीले राजनीतिक दलको मानसिकताकै कारण स्थानीय तहको निर्वाचनको उपप्रमुख पदमा महिला मात्रै उम्मेदवार बनाउने गरिएको बताउँदै त्यसलाई संशोधन गरी कानूनमै सुधार गर्नुपर्ने धारणा राखे ।

सांसद उदया शर्मा पौडेलले जनसङ्ख्याको हिसाबले महिला मतदाताको सङ्ख्या घट्दै गएकोप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराइन् । अधिकारकर्मी डा रेणु राजभण्डारीले देशभित्रै रहेका घरेलु महिला विभिन्न कारणले मतदान गर्नबाट वन्चित भएको बताउँदै उनीहरुको मताअधिकार सुनिश्चित् हुनुपर्ने माग गरिन् ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आयोगले विदेशमा रहेका नेपालीको मताधिकारको प्रबन्ध मिलाउने तयारी गरिरहेको जनाकारी दिए । उनले कम्तीमा ३३ प्रतिशत महिला सबै तहका समितिमा समावेश गर्नुपर्ने कानूनी व्यवस्था भए पनि पहिले दर्ता भएका राजनीतिक दलहरुले व्यवस्था नगरेका कारण त्यसलाई अनिवार्य बनाउने कार्ययोजना सुनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस