‘युवा दुर्व्यसनीमा होइन, उद्यममा लाग्नुपर्छ’ : यज्ञबहादुर बुढाक्षेत्री « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

‘युवा दुर्व्यसनीमा होइन, उद्यममा लाग्नुपर्छ’ : यज्ञबहादुर बुढाक्षेत्री


१४ श्रावण २०७८, बिहिबार


कर्णाली । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले युवालाई उद्यममा लाग्न आग्रह गरेका छन् ।

विश्व हेपाटाइटिस दिवसका अवसरमा बुधवार रिकभरिङ नेपालको ज्ञापनपत्र ग्रहण गर्दै उनले युवा घर,समाज र मुलुक निर्माणको महत्त्वपूर्ण संवाहक भए पनि पछिल्लो समय युवा लागुऔषध दुर्व्यसनीको सिकार बन्दै गएका र यसबाट समाजलाई ठुलो क्षति पुग्ने बताए ।

युवालाई उद्यममा अग्रसर गराउन सके सरकारले सहुलियत कर्जा, ब्याजमा अनुदानजस्ता युवामैत्री कार्यक्रम अघि सारेको छ भन्दै मन्त्री बुढाक्षेत्रीले हरेक क्षेत्रमा पछि परेको कर्णालीका युवा उद्यमतर्फ लागे प्रदेश सरकार र आफ्नो मन्त्रालय सहयोग र समन्वय गर्न तयार रहेको जानकारी जानकारी दिए। लागुऔषध प्रयोगकर्ता र उपचार तथा क्षति न्यूनीकरण सेवादायी संस्थाहरुको सञ्जाल भएकाले युवा लक्षित कार्यक्रममा समन्वय गर्न आफूहरु तयार भएको रिकभरिङ नेपालका कर्णाली प्रदेश अध्यक्ष ललित भट्टराईले जनाए ।

रिकभरिङ महासङ्घले विश्वभर ११ करोडभन्दा बढी व्यक्तिले सुईबाटै लागुऔषध सेवन गर्ने गरेको अनुमान गरेको र त्यीमध्ये झन्डै आधामा हेपाटाइटिस ‘सी’ हुनसक्ने भएकाले सरोकारवालाले बेलैमा ध्यान नपुर्याए ठुलो समस्या आउन सक्ने जनाएको छ ।

वडापालिकामा इसिजी र भिडियो एक्सरे सेवा शुभारम्भ

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतस्थित लाटीकोइली स्वास्थ्य चौकीमा इसिजी तथा भिडियो एक्सरे सेवा सुरु गरिएको छ ।

नगरप्रमुख देवकुमार सुवेदीले बुधवार सो सेवा शुभारम्भ गर्दै स्रोत साधन र दक्ष कामदारको अभावमा पनि यस स्वास्थ्यचौकीले माथिल्लो स्तरको सेवा प्रवाह गरिरहेको बताए ।

उपप्रमुख मोहनमाया ढकालले आफूहरु निर्वाचित भएर आएदेखि नै स्वास्थ्य सेवालाई नै पहिलो प्राथमिकतामा राखिएको जानकारी दिइन् ।

स्वास्थ्य चौकीले शुभारम्भ गरेको विशेषज्ञ स्वास्थ्य सेवाबाट सात हजार २२७ जना लाभान्वित हुने वडा कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस