सरकारी इमेल प्रयोग गर्न सचिवलाई मुख्यसचिवको निर्देशन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सरकारी इमेल प्रयोग गर्न सचिवलाई मुख्यसचिवको निर्देशन


१४ श्रावण २०७८, बिहिबार


काठमाडौँ । मुख्य सचिव शंकरदास वैरागीले सचिवलाई सरकारी इमेल प्रयोग गर्न निर्देशन दिएका छन् ।

सिंहदरवारमा बुधवार बसेको सचिव बैठकमा मुख्यसचिव वैरागीले सो निर्देशन दिएका हुन् ।

मुख्यसचिव वैरागीको अध्यक्षतामा सञ्चालित बैठकले वार्षिक प्रगति प्रतिवेदन तयार गर्ने तथा प्रशासनिक कामकारबाहीमा चुस्तता ल्याउनेबारे विभिन्न महत्त्वपूर्ण निर्णयसहित विगतका निर्णयहरू कार्यान्वयनबारे छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतले जानकारी दिए । बैठकमा विगतमा भएका निर्णय र कार्यान्वयनबारे व्यापक समीक्षा भएको पनि उनले जानकारी दिए ।

बैठकमा मुख्य सचिव वैरागीले सचिवहरूलाई सरकारी इमेल प्रयोग गर्न निर्देशनसँगै सिंहदरवार भित्रका निकायहरूमा साउन मसान्तभित्र तथा बाहिरका निकाय तथा कार्यालयहरूमा एक महिना भित्र अफिस अटोमेशन लागू गर्न सबै सचिवहरूलाई निर्देशन दिएका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा सञ्चालन हुने राष्ट्रिय गौरव, रूपान्तरणकारी आयोजनालगायत प्राथमिकता प्राप्त आयोजनाको वार्षिक कार्यान्वयन कार्य योजना समयमै तयार गरी कार्यान्वयन गर्न र गराउनसमेत उनले निर्देशन दिएका छन् ।

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन अवस्था र सरकारी तथ्याङ्क तथा डाटाबेस सुरक्षा संवेदनशीलता विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रस्तुतीकरण गरिएको छ । समीक्षक्रममा सिंहदरवार प्रवेश थप व्यवस्थित बनाउने, विभिन्न मन्त्रालय तथा निकायको गत आर्थिक वर्षमा निर्धारित माइल स्टोन र क्रियाकलाप प्रगति स्थितिबारे पनि छलफल भएको छ ।

बैठकमा सबै सचिवहरू, प्रदेशका प्रमुख सचिवहरू तथा अन्य विशिष्ट श्रेणीका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस