पौडी खेलाडी गौरिका टोकियो ओलम्पिकबाट बाहिरिइन् « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पौडी खेलाडी गौरिका टोकियो ओलम्पिकबाट बाहिरिइन्


१३ श्रावण २०७८, बुधबार


काठमाडौं । नेपाली पौडी खेलाडी गौरिका सिंह जापानमा जारी टोकियो ओलम्पिक खेलबाट बहिरीएकी छिन् ।

टोकियो ओलम्पिक २०२० मा सिंहले महिला १०० मिटर फ्रिस्टाइलमा लङ कोर्समा कीर्तिमान सुधार गरेकी छन् ।

टोकियोस्थित एक्वाटिक्स सेन्टरमा बुधबार भएको महिला १०० मिटर फ्रिस्टाइलमा गौरिकाले १ मिनेट ००.११ सेकेण्ड समय निकालिन् ।

गौरिकाले लङ कोर्समा आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेकी हुन् । गौरिकाले सन् २०१९ मा भएको फिना वर्ल्ड च्याम्पियनसिपमा १ मिनेट ००।.६२ सेकेण्डको समय निकालेकी थिइन् । २०१९ मा नेपालमै भएको १३ औं सागमा सर्ट कोर्समा भने गौरकाले ५८.१३ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।

गौरिकाले प्रतिस्पर्धा गरेको पहिलो चरणमा जम्मा चार खेलाडी थिए । त्यसमा उनी तेस्रो स्थानमा रहिन् । सुरुको ५० मिटरमा गौरिका अघि रहेपनि पछिल्लो ५० मिटरमा उनले राम्रो प्रदर्शन गर्न सकिनन् । यो चरणमा नाइजेरियाकी अबिओला ओगुनबाङ्गो ५९.७४ सेकेण्ड टाइमिङसहित पहिलो स्थानमा रहिन् । यस्तै मोन्टेनेग्रोकी एन्डेला अन्टुनोभिक १ मिनेट ००.०१ सेकेण्डसहित दोस्रो स्थानमा रहिन् ।

यस प्रतिस्पर्धामा कूल ५१ खेलाडीको सहभागिता छ र उत्कृष्ट समय निकाल्ने १६ खेलाडी मात्र सेमिफाइनलमा प्रवेश गरेका छन् ।

लगातार दोस्रो पटक ओलम्पिकमा सहभागिता जनाएकी गौरिकाले अर्का पौडी खेलाडी एलेक्ससंगै टोकियो ओलम्पिकको उद्घाटनमा नेपालको झण्डा बोकेका थिए ।

टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका ५ खेलाडीले सहभागिता जनाएका थिए । जसमध्ये चार खेलाडीको प्रतिस्पर्धा सकिएको छ । अब एथ्लेटिक्सकी सरस्वती चौधरीले शुक्रबार महिला १०० मिटरमा प्रतिस्पर्धा गर्नेछिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस