कक्षा १२ को परीक्षा होमसेन्टरबाटै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कक्षा १२ को परीक्षा होमसेन्टरबाटै


१३ श्रावण २०७८, बुधबार


काठमाडौँ । साउन ३१ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा होम सेन्टरबाटै भौतिक उपस्थितिमा हुने भएको छ ।

बुधवार संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ख्याल गरेर यस पटकको परीक्षा होम सेन्टरबाटै लिइने जानकारी दिएका हुन् ।

बैठकमा बोल्दै सचिव अर्यालले भने, ‘अर्को ठाउँमा जानु पर्दा यातायातको समस्या हुने, विद्यार्थीले कोठा खोजेर बस्नुपर्ने, , कोरोना जोखिमलाई पनि थप बढाउन सक्ने भएकाले होम सेन्टरबाट गर्नुपर्ने भएको छ ।’

कक्षा १० को आन्तरिक मूल्याङ्कनबाटै नतिजा निकाल्ने तयारी भए पनि कक्षा १२ को आन्तरिक मूल्याङ्कनबाट नभई भौतिक उपस्थितिमै परीक्षा लिनुपर्ने सुझाव आएकोले होम सेन्टरबाटै परीक्षा लिन लागिएको सचिव अर्यालले जानकारी दिए ।

कक्षा १२ का २८ भन्दा कम विद्यार्थी भएका एक हजार, ५० भन्दा कम विद्यार्थी भएका दुई हजार ३००, एक सयभन्दा कम विद्यार्थी भएका तीन हजार ४०० र ५०० भन्दा बढी विद्यार्थी भएका विद्यालय ८९ वटा रहेको पनि सचिव अर्यालले बैठकमा जानकारी दिए ।

बैठकमा बोल्दै सांसद खगराज अधिकारीले होम सेन्टरबाट परीक्षा लिँदा निरीक्षक त्यहीँको नहुने व्यवस्था गर्न पनि सुझाव दिएका छन् । सांसद मानबहादुर विश्वकर्माले विद्यार्थीले उच्च शिक्षा पढ्न नसक्ने गरी कुनै पनि कार्य हुन नहुने बताए । सांसद मिना कुमारी जिसीले स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ कार्यान्वयन गरिनुपर्ने सुझाव दिइन् ।

यस्तै सांसद गिरिराजमणि पोखरेलले शिक्षक र विद्यार्थीलाई कोरोना खोप नदिएसम्म भौतिक उपस्थितिमा परीक्षा लिनु सुरक्षित हुन नसक्ने बताए । उनले आन्तरिक मूल्याङ्कनमा विद्यालयहरूले जथाभाबी नगरुन् भनेर स्थानीय सरकारलाई जिम्मेवारी दिइनुपर्ने सुझाव दिए ।

शिक्षा मन्त्रालयका सचिव रामकृष्ण थपलियाले सांसदहरूको प्रश्नको जवाफ दिँदै सिसिएमसीको निर्णय अनुसार परीक्षा सञ्चालन गर्न लागिएको जानकारी दिए । परीक्षा केन्द्रहरुलाई पनि सिसिएमसीको निर्णय अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ परीक्षा सञ्चालनको व्यवस्थापन मिलाउन भनिएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस