बैंकमार्फत रकम भुक्तानी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बैंकमार्फत रकम भुक्तानी


१३ श्रावण २०७८, बुधबार


मान्म । कालीकोटको तिलागुफा नगरपालिका–१ घडेरास्थित जगन्नाथ आधारभूत विद्यालयले विद्यार्थीले पाउने दिवा खाजा र छात्रवृत्तिको रकम बैंकमार्फत भुक्तानी गरेको छ ।

जिल्लामा दिवा खाजा र छात्रवृत्तिको रकम बैंकमार्फत भुक्तानी गर्ने उक्त विद्यालय पहिलो हो । सबै महिला शिक्षक मात्र रहेको जिल्लाकै एक नमूना रहेको उक्त आधारभूत विद्यालयले नगरपालिकाको समन्वयमा नेपाल इन्भेस्टमेन्ट बैंकमा विद्यालयका सबै विद्यार्थीको खाता खोलेर दिवा खाजा र छात्रवृत्तिको रकम भुक्तानी गर्न शुरु गरेको हो ।

विद्यालयले विद्यार्थीको दिवा खाजाबापत दुई लाख ६२ हजार ५०० र छात्रवृत्तिबापतको ६३ हजार ८०० विद्यार्थीको खातामा जम्मा गरिसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रतन नेपालीले बताए ।

हाल कालीकोटका सबैजसो विद्यालयका विद्यार्थीले पाउने दिवा खाजा र छात्रवृत्तिको रकम विद्यालयले हातहातमा नै दिने गरेका छन् । जिल्लाका धेरैजसो नाम चलेका विद्यालयले बालबालिकाले पाउने छात्रवृत्ति, दिवा खाजा, पाठ्यपुस्तकलगायतको रकम अनियमितता गरेको गुनासो आउने गरेकोे शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख महेश देवकोटाले बताए ।

बाल शिक्षादेखि कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयमा ११८ बालबालिका अध्ययनरत रहेको र विद्यालयमा छात्रभन्दा छात्राको सङ्ख्या बढी रहेको प्रधानाध्यापक तुलासा पाण्डेले जानकारी दिए ।

विद्यालयमा अधिकांश दलित बालबालिका अध्ययनरत रहेका बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस