अस्ट्रेलियाको सिड्नीमा एक महिनाका लागि लकडाउन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अस्ट्रेलियाको सिड्नीमा एक महिनाका लागि लकडाउन


१३ श्रावण २०७८, बुधबार


सिड्नी।अस्ट्रेलियाको सिड्नीमा थप एक महिनाको लागि लकडाउन थपिएको छ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएसँगै सिड्नीमा गत जुनदेखि लकडाउन गरिएको थियो ।

यस वर्ष मात्र सिड्नीमा २५ सयभन्दा धेरै मानिसमा कोरोनाको सङ्क्रमण देखिएको छ । बुधवार न्यु साउथ वेल्समा समग्रमा १७७ नयाँ सङ्क्रमित फेला परेका छन् । दैनिक नयाँ सङ्क्रमितको यो सङ्ख्या गत मार्चयताकै सबैभन्दा धेरै हो ।

न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लियानले शुक्रवारबाट सहरमा लकडाउन खुकुलो पार्नु सम्भव नरहेको बताएकी हुन् । अहिले थपिएको एक महिनाको लागि लकडाउनको नियम अझै कडा बनाइएको छ ।

अस्ट्रेलियाको भिक्टोरिया र साउथ अस्ट्रेलियामा लगाइएको लकडाउन भने बुधवारबाट हटेको छ । कोरोना महामारीको अधिकांश समय अस्ट्रेलियामा सङ्क्रमितको सङ्ख्या तुलनात्मकरुपमा निकै कम देखिएको थियो । त्यसका लागि सरकारले सीमा बन्द गर्ने, बाहिरबाट आउनेलाई क्वारेन्टिनमा राख्नेलगायतका व्यवस्था गर्दै सङ्क्रमण नियन्त्रण गर्दै आएको छ । यद्यपि पछिल्लो समय कोरोनाको डेल्टा भेरियन्टको सङ्क्रमण फैलिएसँगै अस्ट्रेलियामा सङ्क्रमण बढेको हो ।

जानकारहरुले यो लकडाउन सेप्टेम्बर वा अझै परसम्म पनि जान सक्ने चेतावनी दिएका छन् । अधिकारीहरुले संक्रमणदर शून्यको हाराहारीमा नपुग्दासम्म लकडाउन खोल्न नसकिने बताएका छन् ।

यद्यपि पछिल्लो समय मानिसहरुले भने लकडाउनको विरोध गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस