अर्थमन्त्री र अमेरिकी राजदूतबीच शिष्टाचार भेट « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

अर्थमन्त्री र अमेरिकी राजदूतबीच शिष्टाचार भेट


१२ श्रावण २०७८, मंगलबार


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री शर्माले भूकम्पछिको उद्धार र कोभिड महामारीको समयमा प्राप्त भएको अमेरिकी सहयोग अविस्मरणीय रहेको भन्दै सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरे ।

उनले कोभिडविरुद्धको खोप नेपालको पहिलो प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री शर्माले अमेरिकी सरकारको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको कार्यान्वयनमा अनुगमन गरी तदारुकता दिन सरकारले ध्यान पुर्‍याउने उल्लेख गरे ।

भेटको क्रममा राजदूत बेरीले कोभिडविरुद्धको लडाइँमा अमेरिका नेपालको साथमा रहेको बताए । विगत ७० वर्षदेखि अमेरिकाले नेपालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग गर्दै आएको प्रसङ्ग उल्लेख गर्दै उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । कोभिडविरुद्धको खोप अभियानमा सघाउन अमेरिकाले १५ लाख डोज खोप प्रदान गरेको र आगामी दिनमा पनि आवश्यक सहयोग गर्नेतर्फ सकारात्मक रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस