सबै वडाबाट कोभिड विरुद्धको खोप « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सबै वडाबाट कोभिड विरुद्धको खोप


१२ श्रावण २०७८, मंगलबार


काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले नागरिकको सुविधाका लागि वडा–वडामै कोरोना विरुद्धको खोप उपलब्ध गराउने भएको छ । यसअघि नगरभित्र दुई ठाउँमा खोप केन्द्र राखिएकामा नगरपालिकाले अब १३ वटै वडाबाट खोप लगाउने तयारी गरेको हो ।

कोरोना सङ्क्रमणको जोखिम बढिरहेको र निश्चित ठाउँमा मात्रै खोप केन्द्र राख्दा नागरिकले कष्ट व्यहोर्नुपरेको गुनासो आएकाले नगरभित्रका सबै वडामा खोप केन्द्र सञ्चालन गर्ने तयारी गरिएको नगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख कुमारप्रसाद दाहालले बताए ।

तोकिएको उमेर समूहका भन्दा पनि अन्य मानिस खोप केन्द्रमा उपस्थित हुँदा व्यवस्थापनमा साह्रै समस्या भयो । भिडभाड पनि बढी भएकाले सङ्क्रमणको जोखिम कम गर्दै नागरिकको सेवा र सन्तुष्टि बढाउन वडामै खोप लैजाने तयारी गरिएको उनको भनाइ थियो ।

मङ्गलवार देखी नै ४५–४९ उमेर समूहलाई चाइनिज भेरोसेल पहिलो मात्रा लगाउन थालिएको नगरप्रमुख उद्धबप्रसाद खरेलले बताए । उनले भने, ‘माग अनुसार एकै पटक त सक्ने अवस्था नभए पनि सबै नागरिकलाई खोप उपलब्ध गराउने र सङ्क्रमणबाट बचाउने अभियानमा हामी छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस