कालीकोटमा कोभिड–१९ को सङ्क्रमण बढ्दो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कालीकोटमा कोभिड–१९ को सङ्क्रमण बढ्दो


१० श्रावण २०७८, आइतबार


मान्म । कालीकोटमा पछिल्लो चरणमा कोभिड–१९ सङ्क्रमणको दर बढ्दै गएको छ । निषेधाज्ञा खुकुलो बनाएसँगै यहाँ कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको हो । निषेधाज्ञा खुकुलो बनाएका कारणले नागरिक तथा सरोकारवाला निकायले कोभिड–१९ को मापदण्ड पालना नगर्दा कोभिडको सङ्क्रमण दर बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

शनिवार २३ व्यक्तिको परीक्षण गर्दा १३ मा कोरोना सङ्क्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त व्यवस्थापक कटकबहादुर महतले बताए । उनले भने, ‘केही समयअघि शून्यमा झरेको कोभिड–१९ को सङ्क्रमण दर पछिल्ला दिनमा बढ्दै गएको छ ।’

सङ्क्रमण दर बढ्दै गएकाले जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले आजदेखि यही साउन २१ गतेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । ‘शैक्षिक संस्था, सबै प्रकारका सभा, जुलुस, र्याली, गोष्ठी, तालीम, सेमिनार, प्रदर्शन, भेला, सम्मेलन र सबै प्रकारका खेल प्रस्तुतिमा रोक लगाइएको छ’, उनले भने , ‘जिल्लामा कोभिड–१९ को महामारीको सङ्क्रमण दर बढ्दै गएका कारणले जोखिम न्यूनीकरणका लागि निषेधाज्ञा जारी गरिएको हो ।’

हाल जिल्लामा सक्रिय सङ्क्रमित ७८ जना रहेका र त्यसमध्ये ३७ महिला र ४१ पुरुष रहेका छन् । तीमध्ये कोभिड–१९ विशेष अस्पतालमा २० को उपचार भइरहेको, आइसोलेसन सेन्टरमा २५ को उपचार भइरहेको र होम आइसोलेसनमा ३३ जना रहेका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस