ओखलढुङ्गामा पहिरोले आठ घर विस्थापित « प्रशासन
Logo ४ आश्विन २०७८, सोमबार
   

ओखलढुङ्गामा पहिरोले आठ घर विस्थापित


१० श्रावण २०७८, आइतबार


ओखलढुङ्गा । पहिरोले लिखु गाउँपालिका–९ पोकलीका आठ घर विस्थापित भएका छन् । स्थानीय तहले विस्तार गरेको ग्रामीण सडकका कारण पहिरो जाँदा उक्त घरपरिवार विस्थापित भएका हुन् ।

गाउँमा खनिएको सडकले घरमुनिबाट तान्ने र माथिबाट पहिरो झर्ने क्रम बढेपछि स्थानीय दुई टोलका परिवार पूर्ण रूपमा विस्थापित भएका वडाध्यक्ष सुकवीर तामाङले बताए । साबिक पोकली गाविसमा पर्ने च्याम्पोला र काउलेगाउँमा पहिरोका कारण टोल नै जोखिममा परेपछि सुरक्षित ठाउँमा सारिएको छ ।

विस्थापित परिवारलाई वडा कार्यालयले खाद्यान्न र त्रिपाल सहयोग गरेको छ । घर छाडेका स्थानीयवासी वर्षाको समयमा गाउँ नजिकैको सुरक्षित स्थानमा गोठ बनाएर बसेका छन् ।

भूकम्पपछि सरकारी राहत लिएर बनाइएका घरमा पहिरोका कारण बस्न नमिल्ने भएपछि स्थानीयवासीमा समस्या बढेको पोकलीका निर्मल तामाङले बताए । स्थानीय तहले अवैज्ञानिक तरिकाले सडक विस्तार गर्दा आफूहरू जोखिममा पर्नुपरेको पीडितले गुनासो गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस