रजस्वला भएको वेलामा योग गर्नु हुन्छ कि हुँदैन ? « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

रजस्वला भएको वेलामा योग गर्नु हुन्छ कि हुँदैन ?


७ श्रावण २०७८, बिहिबार


महिलाको उमेरलाई मुख्यतया तीन भागमा बाँडिएको छ । पहिलो महिनावारी हुनु भन्दा अगाडिको उमेर, दोस्रो महिनावारी चालु रहने उमेर र तेस्रो महिनावारी सुकेपछिको उमेर हो । सामान्यतया महिनावारी सुरु हुने उमेर औसतमा १३ -१५ वर्ष देखि महिनावारी सुक्ने औसत उमेर ४८-५० वर्ष महिलाको सबैभन्दा उत्पादनशील तथा जीवनोत्कर्षको समय हो। महिनावारी, ऋतुचक्र, नछुने, मिन्स, पिरियड, मासिक धर्म जे जे नामले पुकारे पनि महिला किशोरावस्थामा पुगे पछि प्राकृतिक रूपमा हुने मासिक धर्मलाई रजस्वला भन्ने गरिन्छ । रजस्वला भएको बेला शारीरिक तथा मानसिक स्तरमा अपनाउनुपर्ने संस्कार र नियमहरूको सङ्ग्रह नै रजस्वला परिचर्या हो ।

हिन्दु धर्म संस्कृति मान्ने समाजमा रजस्वला भएको समयमा नछुने बार्नुपर्ने नियम कडा छ । संयुक्त परिवारमा नछुने बार्ने कुरा सहज छ भने एकल परिवार, कामकाजी महिला भएको घरमा नछुने बार्ने कुरा कठिन बन्दै गएको छ । नछुने नबारेको वा बार्न नपाएको हीनताबोध र आत्मग्लानिबाट शरीरका अगंहरु रोगी हुने र पापको डर भय जस्ता मानसिक समस्याले सताउन सक्छ । महिनावारी बार्दै नबार्ने वा कठोरतापूरक बार्ने अति गर्ने तर्फ जानु भन्दा महिलाको स्वास्थ्य, व्यवहारिक सहज जीवनशैली र संस्कृतिको सम्मानको दृष्टिकोणबाट हेर्नु पर्दछ।

वैदिक सनातन हिन्दु धर्ममा आधारित प्रथा परम्परामा महिनावारी बार्ने प्रचलन छ। जुन रजस्वला परिचर्या आचार श्लोकमा आधारित छ। मुख्य केही श्लोकहरू यस प्रकार छन्।

रजस्वला परिचर्या:श्लोक-१
दिनत्रय-मशौचं स्यात् सा चतुर्थेऽह्नि शुद्धयति।
पत्यौ हि केवलं सा च, दान-पूजासु पंचमे।।

श्लोकार्थ-रजस्वला भएकी स्त्रीले तीन दिनसम्मआशौच बार्नु पर्दछ। यस्ती स्त्रीलेनुवाई धुवाई गरेर चौथो दिनमा भोजन बनाउनका लागि शुद्ध मानिन्छिन्, नित्य पूजा आदि धार्मिक कार्य गर्नका लागि पाँचौँ दिन शुद्ध मानिन्छिन् र पितृ कार्य गर्न सातौँ दिनबाट शुद्ध मानिन्छिन्।

महिनावारी बार्ने प्रचलन भएको घर परिवारमा ३ दिन नछुने, चौथो दिन नुवाई धुवा गरेर घरको काम गर्ने र पाँचौँ दिन नुवाई धुवाई गरेर देव कर्म गर्न सक्ने चलन छ ।

रजस्वला परिचर्या:श्लोक-२
रजस्वला हि चैकान्ते, तिष्ठेन्मौनेन सा तदा।
ब्रह्मचर्य-समायुक्ता, जन-स्पर्शविवर्जिता।।

श्लोकार्थ-रजस्वला स्त्रीले कुनै एकान्त स्थानमा मौन धारण गरेर बस्नु पर्दछ। ब्रह्मचर्यको पूर्ण पालन गर्नु पर्दछ र अन्य कसैलाई पनि स्पर्श गर्नु हुँदैन ।

आयुर्वेदले भन्दछ-रजस्वला भएको वेला दौडधुप गर्दा वायु बढ्छ । त्यसैले आराम गर्नुपर्दछ। मासिक धर्म स्त्री शरीरको शुद्धीकरणको प्रक्रिया हो । शोधको क्रममा मन्दाग्नि हुन्छ तसर्थ यो वेला हलुका शारीरिक क्रियाकलाप मात्र गर्ने, सुपाच्य भोजन लिने र आराम गर्ने भनेको छ।

महिनावारी बार्नु वा नबार्नु आ-आफ्नो धर्म संस्कृति,पेसा व्यवसाय, परिवार संरचना र रीतिथिति परम्परामा आधारित हुन्छ । यहाँ बार्ने नबार्नेको खिचलोमा पर्नु भन्दा महत्त्वपूर्ण कुरा महिलाको स्वास्थ्यसँग जोडिएको कुरा छ । एउटा कुरालाई भने आयुर्वेद र आधुनिक चिकित्सा पद्धतिले स्वीकार गरेको छ कि महिनावारी भएको वेला अपनाइने सरसफाइ, आराम र विशेष हेरचाहले स्त्रीजन्य रोगलाग्नबाट बच्न सकिन्छ। महिनावारी नियमित हुन्छ  र सहजतापूर्वक समय बिताउन सकिन्छ ।

आयुर्वेदाचार्यहरुले आरोग्यताका लागि विभिन्न आचारसंहिता बनाए जस्तै गर्भिणी चर्या, रजस्वला परिचर्या । रजस्वलाको मासिक चक्र स्वस्थ्य र सन्तुलित नियमित छ भने, रक्त सफा शुद्ध छ भने शारीरिक वा मानसिक रूपमा स्वस्थ्यताको महसुस गर्न सकिन्छ । स्वस्थ्य महिलाबाट जन्मिएका बच्चा स्वस्थ्य र सुन्दर हुन्छन्। रजस्वला भएका बखत हुने रक्तस्राव नारीको शरीर धर्मको प्राकृतिक शोधनको प्रक्रिया हो। सबैको बुद्धिको स्तर एउटै हुँदैन त्यसैले शास्त्रको माध्यमबाट डर, त्रास, भयद्वारा सम्झाउने प्रयास भएको हुनुपर्छ। जसरी राज्यले कानुन बनाएर, दण्डको भय देखाएर समाजमा अपराध हुनबाट रोक्दछ। त्यसै गरी धर्मशास्त्रले पापको डर देखाएर प्रकृतिका नियमहरू पालना गर्न उत्प्रेरित गरेको पाइन्छ ।

अर्कोतर्फ महिनावारीको समयमा अनिवार्य बार्नु पर्ने कठोरताका नियमलेतथा अनावश्यक निषेधाज्ञाले बालिका/किशोरीहरूमा गहिरो आघात पुग्दछ। महिनावारी हुनु भनेको अपवित्र हुनु हो, यस्तो समयमा छुनु भनेको पाप हो, वर्ष भरी जान अन्जानमा गरेको पापको प्रायश्चित स्वरूप श्रीपन्चमीमा व्रत बसेर पाप पखाल्नु पर्छ अन्यथा अधर्मी होइन्छ भन्ने मानसिकतामा हुर्किएका महिलामा अहिले पनि महिनावारी नबार्दा वा व्रत बस्न नसक्दा आफू पापको भारी बोकेर हिँडिरहेको महसुस हुने गरेको बताउँछन्। प्राकृतिक धर्म अनुसार हुने शारीरिक परिवर्तनलाई स्वीकार गर्न नसक्ने, आफू स्त्री भएकोमा घृणा उत्पन्न हुने, भेदभावको महसुस गर्ने, आफ्ना स्त्रीलिङ्गिय अङ्गको बेवास्ता गर्नेसम्मको अवस्था रहन्छ। महिनावारी भएको बहानामा परिवार र समाजले गर्ने फरक व्यवहारका कारण किशोर मनोविज्ञानले आफू महिला भएकोमा गर्व नगर्ने, विद्रोह गर्ने, बार्ने चलनको अवज्ञा गर्ने, महिनावारी भएको कुरा लुकाउने, केटा जस्तो बन्न खोज्नेजस्ता व्यवहार गर्दछन्। आधुनिक युगमा महिला स्वास्थ्यको मुख्य चुनौती बनेको स्तन र पाठेघर सम्बन्धी रोग हो। यो हुनुको अन्तर्निहित मनोविज्ञान महिला आफू स्त्री भएकोमा धिक्कार ठान्ने, स्त्रीलिङ्गिय अङ्गको स्याहार सरसफाइ नगर्ने,महिनावारीको समयमा हुने मानसिक समस्याको कारणले स्त्रीजन्य रोगको सिकार भइरहेको कुरा केही अध्ययनले बताएका छन् ।

महिलाको प्रजनन प्रणाली तथा सन्तानोत्पादन कार्यमा मुख्यतया अस्ट्रोजेन र पाजेस्टोरोन हार्मोनले सहयोग गर्दछन्। मस्तिष्कमा रहेको पिट्युटरी ग्रन्थिमा उत्पादन भई रक्तप्रबाहको माध्यमबाट पाठेघरसम्म पुग्दछ र महिनावारी चक्रलाई नियमित गर्दछ। हर्मोनमा कुनै असन्तुलन भएमा महिनावारी गडबडी हुने गर्दछ। महिनावारी हुनु भन्दा पहिले वा भएको समयमा हुने विभिन्न शारीरिक र मानसिक असन्तुलनहरू जस्तै थकान, जिउ भारी हुने, जिउ चिलाउने, टाउको दुख्ने, हाल खुट्टा झम्झमाउने, ग्यास्ट्रिक बढ्ने, पेट फुल्ने, तल्लो पेट दुख्ने, वाकवाकी लाग्ने, अपच तथा कब्जियत हुने, हर्मोन असन्तुलन हुने, भावुक हुने, मुडमा उतारचढाव आउने, झर्को लाग्ने, अनियन्त्रित विचार आउने, नैराश्यता, उदासी, तनाव, चिन्ता, विषाद, आत्महत्याको विचार आउने सम्मको कुराहरू हुने गर्दछन्। महिनावारीको समयमा हुने यस्ता लक्षणलाईविश्व स्वास्थ्य सङ्गठनले एउटा मानसिक स्वास्थ्य समस्याको रूपमा लिएको छ।

महिलाको रजस्वला चक्र चन्द्रमाको पृथ्वीलाई परिक्रमा गर्ने गति चक्रसँग तादाम्यता हुने भएकोले महिनावारीको समयमा मनोभावमा हलचल पैदा हुन्छ। चन्द्रमालाई मनका देवता भन्ने गरिन्छ। यदि महिनावारी भएको समयमा हामीले राम्रोसँग ख्याल गर्‍यौ भने  मन चञ्चल हुने, भावुक बन्ने, उदास रहनेखालका बेग्लै किसिमको ऊर्जाको अनुभव गर्न सकिन्छ। महिनावारी हुनु भन्दा अगाडि वा पछाडि हुने शारीरिक र मानसिक उथलपुथलको बारेमा थाहा पाउनु जरुरी छ । शरीरको जैविक चक्र अस्तव्यस्त भए मासिक धर्म समेत अनियमित हुन्छ। रजस्वलामा रज बन्ने र बिग्रने प्रक्रिया २८ दिनको हुन्छ।

जसरी चन्द्रमाको अर्ध चन्द्र र पूर्ण चन्द्र हुने प्रक्रिया २८ दिन कै हुन्छ । रजोबृत्तिले मन, वृत्ति, चित्त र अहङ्कारमा प्रभाव पार्दछ । महिनावारी गडबडी हुँदा मनोभावमा समेत नकारात्मक असर पर्दछ । मनमा छटपटी हुने, बेचैनी हुने, अशान्ति हुने हुन्छ । महिलाको मानसिक स्वास्थ्य ठिक नभए परिवारका अरू सदस्यले समेत त्यसको नकारात्मक अवस्था झेल्नुपर्दछ। महिनावारीले महिलाको मानसिक स्वास्थ्यलाई प्रत्यक्ष प्रभाव पार्दछ । यो कुरा बुझ्न नसके मानसिक विक्षिप्तताको अवस्थामा समेत पुग्न सकिन्छ। महिनावारी नियमित र सन्तुलनमा राख्न पूर्णिमाको व्रत बस्नाले फाइदा पुग्दछ भनिएको छ। प्रकृतिको ऋतु चक्रसँगै सूर्यचन्द्रको समय चक्रसँग हाम्रो दिनचर्याको तादाम्यता बनाउने बित्तिकै  शरीरका जैविक घडीले सन्तुलित र नियमित ढङ्गले काम गर्न थालिहाल्दछन् ।

रजोस्खलनको लागि अपानवायु अधोमगन भइरहेको अवस्थामा शक्ति जागरण, कुण्डलिनी जागरण, योगाभ्यास गरेर ऊर्जा उर्ध्वगमन गराउनु राम्रो होइन तसर्थ महिनावारी भएको तीन दिनसम्म वा रक्तस्राव हुने दिन सम्म योग नगर्नु उपर्युक्त हुन्छ ।

रजस्वला भएको बेला योग गर्नु हुन्छ कि हुँदैन ?
मानव शरीरका मुख्य पाँच प्राणहरू मध्ये नाभि देखि गुदद्वारसम्म काम गर्ने अपान वायुले खाना पचाउने, मलमूत्र बाहिर निकाल्ने, गर्भाशय सक्रिय बनाउने, रजतत्व बाहिर निकाल्ने आदि काम गर्दछ । अपानवायु सन्तुलित भए महिनावारी नियमित हुन्छ । अपानवायु बिग्रिए महिनावारीमा गडबडी हुन्छ। शरीरका सात उर्जाकेन्द्रहरु जसलाईमूल चक्र भनेर पनि चिनिन्छ ती मध्ये महिनावारी स्वाधिष्ठान चक्रसँग सम्बन्धित छ। सुखानुभूतिको केन्द्र मानिने स्वाधिष्ठान चक्र असन्तुलन भए महिनावारी बिग्रने, सन्तान उत्पादन नहुने, यौन सुख प्राप्त नहुने, दुःखी भइरहने, सुखको अनुभव गर्न नसक्ने स्वभाव बन्दछ। अपान वायु नाभि भन्दा तल प्रवाह हुने हुँदामहिनावारीको समयमा योगाभ्यास गर्नु, यौन क्रियाकलापमा संलग्न हुनुबाट उर्जाको प्रवाहमा टकराब उत्पन्न भई महिलाको शारीरिक तथा मानसिक स्वास्थ्यलाई हानी पुर्‍याउने गर्दछ।

रजोस्खलनको लागि अपानवायु अधोमगन भइरहेको अवस्थामा शक्ति जागरण, कुण्डलिनी जागरण, योगाभ्यास गरेर ऊर्जा उर्ध्वगमन गराउनु राम्रो होइन तसर्थ महिनावारी भएको ३ दिनसम्म वा रक्तस्राव हुने दिन सम्म योग नगर्नु उपर्युक्त हुन्छ। तर शरीरको ऊर्जा प्रणाली सक्रिय भएको वेलामा केही न केही प्राणायामको अभ्यास र ध्यान साधना भने मजाले गर्न सकिन्छ ।

तीन दिन शरीरले धेरै परिश्रम गर्नुपर्ने खालका र मानसिक दबाब पर्ने खालका काम नगर्नु राम्रो हुन्छ । जसले गर्दा शरीरबाट निस्कने रजोविकार निष्कासन हुँदा निस्कने विकिरणको प्रभाव न्यूनीकरण गर्न सकिन्छ । रजस्वला हुनु शुद्ध हुनु हो तर निस्किएको रज चैँ विकार हो । रज-वीर्य संसर्गबाट नयाँ जीवन निर्माण हुन्छ तर प्रयोजन सकिए पछि विकार बन्छ । त्यस्तो रजोविकारको उचित विसर्जन हुनुपर्दछ ।

महिनावारी हुँदा हुने पिडा खप्ननसकेर औषधी खाने बानी भएमा एक दिन दबाइले काम गर्न छोड्छ र शरीरमा दवाईको प्रभाव पर्न छोड्छ अनि के गर्ने भन्ने समस्या उत्पन्न हुन्छ। तसर्थ रोग लाग्नु भन्दा रोग लाग्न नदिनु राम्रो हो। नियमित योगाभ्यास, प्राणायाम र ध्यानको अभ्यासले महिनावारी हुने अनियमिततालाई नियमित गर्न र स्त्रीजन्य रोगबाट मुक्त हुन् सकिन्छ । अर्कोतर्फ कुनै विशेष पेसा वा कार्यको मिसनमा आबद्ध महिलाले आफ्नो कार्यलाई निरन्तरता दिन सक्दछन्। जस्तै:खेलाडी पथप्रदर्शक आदि ।

शल्यक्रियाका पिता श्रुश्रृत ऋषिले रजस्वला भएकी स्त्रीले ब्रह्मचारिणी रूपमा बस्नु पर्छ भन्नु भएको छ । गर्भाशयको सफाइको क्रम चलिरहने समय भएकोले रज बन्ने र बिग्रने क्रममा शरीरबाट एक प्रकारको ऊर्जा सक्रिय भइरहेको हुन्छ। रज निष्कासनको क्रममा शरीरबाट विकिरण निस्किरहेको हुन्छ। यसप्रकारको विकिरणबाट अन्य व्यक्तिलाई असर हुन नदिनु, बोटबिरुवा नछुनु वा कुनै मठ मन्दिर पुजास्थलमा नजानु बुद्धिमानी हुन्छ । महिनावारी नबार्नु पाप चैँ हुँदै होइन। विश्वमा विभिन्न धर्म संस्कृति मान्ने महिला छन्। सबै महिलाले महिनावारी बार्दैनन् । यो संस्कार र प्रचलनको कुरा हो। सत्य सार्वभौम हुन्छ, सबैठाँउमा समान रूपले लागू हुन्छ । बार्नै पर्छ भन्ने कुरा सत्य होइन, समाजले बनाएको नियम हो तर बार्दा लाभ भने हुन्छ । महिनावारी बार्दा महिलाको स्वास्थ्य राम्रो भएको अध्ययनले देखाएको छ ।

रजस्वला चक्रलाई व्यवस्थित गर्न निम्न योगाभ्यास गर्न सकिन्छ
सूर्यनमस्कार, एकपाद कपोतासन, मत्स्यासन, मर्जराशन, पर्वतासन, प्रसारित पादासन, कटीचक्रासन, बज्रासन, जानु शिरासन, नौकासन, धनुराशन, भुजगांसन, उष्टासन, बधकोणासन, शशकासन,नटराज आसन, अर्ध चन्द्रासन, अर्ध चक्रासन, अर्ध मछेन्द्रासन, सर्वागांसन, हलासन, शिर्षासन आदि ।

नियमित यी योगाभ्यासगर्नाले स्त्रीजन्य हर्मोनमासन्तुलन, महिनावारीको समयमा हुने शारीरिक पिडाबाट मुक्ति, मानसिक शान्ति र स्थिरता, महिनावारीमा नियमितता, प्रजनन प्रणाली सुदृढ, भित्रीअंगहरु बलियो हुने र विभिन्न खालमा मासिक धर्म असहजताबाट मुक्ति दिन्छ । योगद्वारा मानसिक उथलपुथल, शारीरिक कष्ट पिडा तनाव झेल्ने क्षमता बढाउन सकिन्छ । योगले तनाव रहित, दर्द रहित मासिक धर्मको स्थितिमा पुग्न सकिन्छ । योगले छिट्टै बुढ्यौली हुने प्रक्रियालाई ढिलो गरिदिन्छ, जुन अधिकांश महिलाको चिन्ताको विषय हो ।

महिनावारीको समयमा लामो र गहिरो श्वास प्रश्वास सहितको बीज प्राणायाम, लयबद्ध ॐकार सहितको उद्गीत प्राणायाम, भ्रामरी, नाडीशोधन, अनुलोम विलोम, उज्जाई प्राणायाम गर्न सकिन्छ तर पेट चलाउनु पर्ने नाभि भन्दा तल चल्ने खालका प्राणायाम नगर्नु राम्रो हुन्छ। महिनावारी भएको वेलामा ध्यान गर्नु सर्वोत्तम मानिन्छ।

ध्यान गर्दा सवासनमा योग निन्द्रामा गएर महिनावारीको समयमा हुने पिडा र तनावलाई हिलिङ गर्न सकिन्छ। महिनावारीको समयमा खराब विचारबाट बच्ने, सकारात्मक सोच राख्ने, ध्यान गर्ने, आरामले बसेर हातखुट्टा गर्धन अनुहारको सूक्ष्म व्यायाम गर्ने, आफूलाई मन पर्ने सिर्जनात्मक कार्य गर्ने अध्ययन अनुसन्धान गर्ने, रजस्वला भएको वेला कुनै समस्या भए गर्न सकिने घरेलु उपचारमा खुकुला, नरम र सजिला कपडा लगाउने, तातोपानीले तल्लो पेट सेक्ने, जुवानो पानी उमालेर पिउने, पटक पटक मनतातो पानी पिउने, पौष्टिक आहार पोसिलो खाना खाने,सकारात्मक सोच र प्रसन्न चित्तमा रहने, स्वास्थ्य र सरसफाइमा ध्यान दिने कार्य गर्न सकिन्छ । अन्तमा हरेक महिलाको जीवनमा प्राकृतिक रूपमा हुने मासिक धर्मलाई आफ्नो जीवनचर्यामा कदापि हाबी हुन नदिने कुरामा सदैव सजग रहनु पर्दछ ।

बिन्दा आचार्य (योग साधक तथा प्रशिक्षक): यो लेख स्वअध्ययन र अनुभवमा आधारित छ।

Tags :
प्रतिक्रिया दिनुहोस