प्रशासनमा सिर्जनशीलताका संवाहक पक्षहरू « प्रशासन
Logo २९ आश्विन २०७८, शुक्रबार
   

प्रशासनमा सिर्जनशीलताका संवाहक पक्षहरू


६ श्रावण २०७८, बुधबार


सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व हो । राज्यको यसै विशिष्ट दायित्वको आधारमा सरकार र जनताको सम्बन्ध स्थापित भएको हुन्छ । सार्वजनिक सेवा सरकार र जनता बिच नियमित भेट हुने सङ्गम स्थल हो । यसै सम्बन्धको कारणले सरकारको पहिलो दायित्व सेवा प्रवाहको प्रभावकारिता अभिवृद्धि गर्ने रहेको हुन्छ । सेवा प्रवाहको प्रभावकारिताको स्तरले सरकारको लोकप्रियताको स्तर निर्धारण गर्ने गर्दछ । सार्वजनिक सेवा प्रवाहमा दक्षता र प्रभावकारिताको स्तरले सुशासनको सही अवस्थाको चित्रण पनि गरेको हुन्छ । सेवा प्रवाहको लागि सरकारले प्रशासनिक संयन्त्रको व्यवस्था गरेको हुन्छ जसलाई प्रशासनयन्त्र,कर्मचारीतन्त्र, सार्वजनिक प्रशासन आदि नामले चिन्ने गरिन्छ ।प्रशासनयन्त्रको जनमुखी कार्यशैली, सेवा प्रवाहको लागि तत्परता तथा सक्रियताले सार्वजनिक सेवाको प्रभावकारिताको चित्रण गरेको हुन्छ । प्रशासनयन्त्रको जनमुखी कार्यशैलीको आधारमा नै सरकारको प्रभावकारिता वा लोकप्रियताको मापन हुने गर्दछ ।

नेपालको प्रजातान्त्रिक आन्दोलनको छ दशक भन्दा लामो सङ्घर्ष पश्चात् देशले उच्चतम प्रजातान्त्रिक सङ्घीय लोकतान्त्रिक सङ्घीय शासन प्रणाली अवलम्बन गर्न पुगी सो को अभ्यास गदै आएको छ । परिवर्तित शासकीय व्यवस्था अनुसार सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ प्रदेश र स्थानीय गरी तीन तहको बहु सरकारको अवधारणा अनुरूप हुने र राज्य शक्तिको प्रयोग सङ्घ, प्रदेश र स्थानीय तहहरूबाट हुने व्यवस्था भएको छ। सङ्घीयता राज्यसत्ता को अधिकारको प्रयोग राज्यका बहु सरकारहरूबिच विनियोजन गरी शासकीय क्रियाकलापमा बढी भन्दा बढी जनतालाई संलग्न गराउने राजनीतिक प्रक्रिया हो । यसर्थ सङ्घीय शासन प्रणाली बढी प्रजातान्त्रिक र सहभागितामूलक हुन्छ ।सङ्घीयता बहु सरकारहरू बिच साझा र स्वशासनमा आधारित एउटा आदर्श शासन प्रणाली समेत हो । यसर्थ सङ्घीय संरचनामा सक्षम कर्मचारीतन्त्र र प्रभावकारी सेवा प्रवाह अपरिहार्य विषयको रूपमा लिने गरिन्छ । प्रभावकारी सेवा प्रवाह गर्ने सरकारको भरपर्दो संयन्त्रको रूपमा प्रशासनयन्त्र आफैमा सकारात्मक विशेषता र गुणलेयुक्त संस्थाको रूपमा रहनु पर्दछ ।

जनमैत्री शासन प्रणालीसंघीय शासन प्रणालीको अपरिहार्य पक्ष हो । लोकतन्त्रमा जनता नै राज्यको शासन व्यवस्थाको सर्वेसर्वा निर्णायक हुन्छन् । जनताले तिरको कर, राज्यको स्रोत साधनबाट भएको आर्जन र जनताको नाममा आएको सहयोग बाट तलब र सुविधा पाउने जनप्रतिनिधि, कर्मचारी तथा सार्वजनिक निकायहरू सबै जनताप्रति जबाफदेही हुनु पर्दछ । यो नै सच्चा लोकतन्त्रको मूल आदर्श पनि हो । प्रजातन्त्रको दिगोपना र यसको वास्तविक उपयोगको लागि पारदर्शी संयन्त्रकोआवश्यकता पर्दछ ।

पारदर्शिताको अभिवृद्धिले सरकारी काम कारबाहीमा प्रभावकारिता ल्याउने, भ्रष्टाचार न्यूनीकरण हुने, जनउत्तरदायी सरकारको स्थापनाको मार्ग प्रशस्त भई सुशासनको अवधारणाले मूर्त रूप पाउने गर्दछ । यसको साथै पारदर्शिताले सरकार जनउत्तरदायी बन्न र प्रजातान्त्रिक विधिको परिपालनामा सहयोग पुग्ने मात्र होईनकि सर्वसाधारण जनताको तहमा समेत सबलीकरण हुन गई समग्र शासन प्रणालीमा जनताको सहभागिता र अपनत्व निर्माणमा समेत सहयोग पुग्न जान्छ । यसर्थ पारदर्शी र उत्तरदायी प्रशासन प्रजातान्त्रिक शासन प्रणालीको आधार स्तम्भ हो ।

विश्वव्यापीकरण, शिक्षा, सूचना र प्रविधिको तीव्र विकासले जन आकाङ्क्षाको तह पनि उच्च रूपमा बढेको छ यस सन्दर्भमासार्वजनिक प्रशासनको कार्यक्षमता, प्रभावकारिता र सबल उपस्थिति अनिवार्य सर्त हो । यी भिन्न परिवेशमा आफूmलाई अनुकूलित गराउँदै जान र शासन प्रणालीलाई सुदृढ, मजबुत, जनमैत्री बनाउनका लागि सिर्जनशील, व्यावसायिक र सदाचारयुक्त सार्वजनिक प्रशासन सामयिक आवश्यकता हो ।

प्रशासन विज्ञ, व्यावसायिक, क्षमतावान् व्यक्तिहरूको समूह तथा राज्यको स्थायी संयन्त्र हो। यसै कारणले सरकारी नीति निर्माण कार्यान्वयनमा प्रशासनिक संयन्त्रको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। प्रशासकीय सक्रियताको सन्दर्भलाई पनि यसै परिवर्तनमा हेर्न सकिन्छ। प्रशासन सरकार र सेवाग्राही बिचको दरिलो सम्बन्ध सेतु हो। यसर्थ प्रशासनिक संयन्त्र जति प्रभावकारी हुन्छ त्यत्ति नै सरकार त जनताबिचको सम्बन्ध त्यति नै मजबुत हुने गर्दछ र यही असल सम्बन्धलेनै सरकारको दिगोपना को सुनिश्चितता गर्ने गर्दछ। यसै कारणले नै कुनै पनि देशको सरकार त्यहाँको प्रशासन यन्त्रको राम्रो हुन सक्दैन भन्ने गरिएको हो।

प्रशासन यन्त्रको सकारात्मक पूर्व सक्रियता ले एकातर्फ सरकारले आफूले परिकल्पना गरेको दीर्घकालीन सोचलाई नीति नियम र प्रक्रियाका आबद्ध गराएर जनताले अनुभूति गर्ने गरी कार्यान्वयन गर्न सक्छन् भने कार्यान्वयनको क्रममा जन अपेक्षाको सम्बोधन भयो भएन र त्यसमा के कस्ता सुधारको आवश्यकता छ भन्ने कुराको पृष्ठ पोषण प्राप्त भई त्यसलाई आगामी दिनको कार्य योजनामा परिमार्जन वा समाहित गर्न सकिन्छ। यसर्थ सकारात्मकता सहितको निष्पक्ष र सक्रिय प्रशासनिक संयन्त्र असल शासकीय प्रणालीको संवाहक हो असल शासकीय प्रणालीको धरोहर हो ।

नीति निर्माण राजनीतिक नेतृत्वको कार्यक्षेत्र हो। तर राजनीतिक नेतृत्वसँग जनताका इच्छा, आकाङ्क्षा,चाहनाका सन्दर्भमा परिवर्तनको एउटा स्पष्ट लक्ष्य रहेको हुन्छ तर त्यो इच्छा, आकाङ्क्षा,चाहनालाई कानुनी र प्रशासनिक प्रक्रियाको माध्यमबाट नीति दस्ताबेजमा प्रतिविम्वित गराउन, कार्यान्वयनको सुनिश्चितताको लागि संस्थागत संयन्त्रको परिचालन गर्न र तल्लो तहसम्म फैलिएको प्रशासनिक संयन्त्रको परिचालनद्वारा जनतासँग सम्पर्क कायम गर्न प्रशासनिक संयन्त्रको परिचालनको आवश्यकता हुन्छ । यसैले तटस्थता प्रशासनयन्त्रको अपरिहार्य विषयवस्तु भए पनि विषगत विज्ञता र स्थायी संयन्त्र भएको कारणले प्रशासनयन्त्रले दक्षता सहितको तटस्थता द्वारा सकारात्मक योगदान गर्न सक्छ भन्ने मान्यताको विकास हुँदै गएको छ ।

निष्पक्षता, तटस्थता, तत्परता, प्रतिबद्धता, सिर्जनशीलता, पारदर्शिता, सकारात्मकता,सदाचारिता सार्वजनिक प्रशासनका मूलभूत न्यूनतम विशेषताहरू हुन् ।निष्पक्षता र तटस्थता प्रजातान्त्रिक शासन प्रणालीका अपरिहार्य तत्त्वहरू हुन् ।निष्पक्षता र तटस्थता सहितको तत्परता, प्रतिबद्धता र सिर्जनाशीलताले प्रशासन व्यावसायिक बन्न सक्दछ । पारदर्शिताले प्रशासनलाई सकारात्मक र सदाचारलेयुक्त बनाइदिन्छ । कार्य सम्पादनमा इच्छाशक्ति सहितको सदाचारिता र सदाचारिता सहितको इच्छाशक्तिले प्रशासन परिणाममुखी र जनमुखी बन्न सक्दछ ।

इच्छाशक्ति रहितको सदाचारिता र सदाचारितारहितको इच्छाशक्तिले प्रशासन परिणाममुखी र जनमुखी बन्न सक्दैन । यसकारण इच्छाशक्ति सहितको सदाचारिता, निष्पक्षता, तटस्थता, तत्परता, प्रतिबद्धता, पारदर्शिता, सकारात्मकता र व्यावसायिकताको अवलम्बनले प्रशासन सिर्जनशील बन्न सक्दछ । यी विशेषताहरूको सक्षम उपस्थितिले नै सक्षम प्रशासनको कल्पना गर्न सकिन्छ र यी विशेषताहरूको क्षयीकरण वा कमजोर उपस्थितिले प्रशासन जनमैत्री बन्न नसक्ने मात्र होइन कि समग्र शासकीय परिपाटी नै व्यापक आलोचनाको केन्द्र बन्न पुग्दछ । यसबाट शासकीय संरचना र सरकार प्रति जनताको अपनत्व बोध समाप्त हुन जाने खतरा बढ्दछ । राज्य संयन्त्र प्रति जनताको अपनत्व बोध कायम गर्न प्रशासनयन्त्रको सकारात्मक भूमिकाले सरकार प्रति जनमानसमा विश्वसनीयता वृद्धि भई जन अपनत्वयुक्त दिगो सरकार कायम गर्ने कार्यमा योगदान दिन सक्दछ ।

Tags :
प्रतिक्रिया दिनुहोस