कसैको पनि विदेशमा गरेको उपचार खर्च सरकारले व्यहोर्नु गैर कानुनी : गगन थापा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कसैको पनि विदेशमा गरेको उपचार खर्च सरकारले व्यहोर्नु गैर कानुनी : गगन थापा


६ श्रावण २०७८, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता गगन कुमार थापाले विदेशमा गरिएको उपचार खर्च सरकारले व्यहोर्नु गैर कानुनी भएको बताएका छन् ।

बुधवार नेता थापाले प्रधानमन्त्री शेर बहादुर देउवाको ध्यानाकर्षण गराउँदै नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने अघिल्लो सरकारको निर्णय गैर कानुनी भएको बताएका हुन् ।

उनले भनेका छन्,‘२०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा हाम्रै पहल र संशोधनमा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ भन्ने व्यवस्था छ र उक्त कानुन २०७५/६र२ गतेदेखि लागु भइसकेको छ, यो कानुन कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति, प्रधानमन्त्रीदेखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन । कानुनको यो व्यवस्थाको सम्बन्धमा सम्माननीय प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ ।’

उनले अहिले खनालको स्वास्थ्योपचारको चर्चा भइरहेको र त्यसमा उनको पार्टीले पहल गरिरहेको भन्दै अप्ठेरो अवस्था भए सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।

‘जहाँसम्म पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचारको सन्दर्भ छ, हामी सबै उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छौँ । नेपालको लोकतान्त्रिक आन्दोलनमा अभूतपूर्व योगदान पुर्‍याउनुभएका झलनाथ खनालले पछिल्लो पटक निजी नाफा–घाटाको हिसाब नगरी संविधान र लोकतन्त्रको पक्षमा आफूलाई जसरी उभ्याउनुभएको छ, यसले उहाँको कद अझ बढेको छ, झलनाथ खनालसमेतको अडान र नेतृत्वदायी भूमिकाका कारणले जोगिएको संसद्मा सँगै काम गर्न हामी प्रतीक्षारत छौँ । मलाई विश्वास छ, हाम्रो चाहना छिटै पूरा हुनेछ’ नेता थापाले भनेका छन् ।

उनले खनालको उपचार खर्च जुटाउनसपर्ने त्यसको लागि देश–विदेशमा रहेका सबै नेपाली हरदम तयार रहेको बताएका छन् । उनले भने, ‘उहाँलाई उपचार खर्च जुटाउनुपर्ने अवस्था नै आएमा त्यसको लागि देश–विदेशमा रहेका हामी सबै नेपाली हरदम तयार छौँ र रहन्छौँ नै, यस्तो बेलामा उहाँको विदेशमा गरेको उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाई उहाँको बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर उहाँ र उहाँको परिवारलाई दुःखी नबनाऊँ ।’

उनले कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानुनी भएको र अघिल्लो सरकारले कानु्नविपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । उनले भने, ‘कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानुनी हो र अघिल्लो सरकारले कानु्नविपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईँ सचेत हुनुहुन्छ र तपाईँको भनाइ उद्धृत गर्दै आएका समाचार गलत हुन् भन्ने विश्वास छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस