श्याम घिमिरेमाथि भएको हातपातमा २४ घण्टाभित्र स्पष्टीकरण लिन देउवाको निर्देशन « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

श्याम घिमिरेमाथि भएको हातपातमा २४ घण्टाभित्र स्पष्टीकरण लिन देउवाको निर्देशन


२ श्रावण २०७८, शनिबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय सदस्य तथा छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि भएको हातपातमा २४ घण्टाभित्र स्पष्टीकरण लिन निर्देशन दिएका छन्।

शनिवार बालुवाटारमा बसेको काँग्रेस केन्द्रीय पदाधिकारी बैठकमा  देउवाले २४ घण्टाभित्र स्पष्टीकरण लिन अनुशासन समितिलाई निर्देशन दिएका हुन्। देउवाले केन्द्रीय सदस्य घिमिरेमाथि आक्रमण गर्नेलाई अनुशासनको कारबाही गर्न समेत निर्देशन दिएका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला एवं पार्टी पदाधिकारीको सहभागितामा भएको छलफल एवं परामर्श पश्चात् क्रियाशील सदस्यता छानबिन समितिले पेस गरेको निर्णय बमोजिमको पत्र अनुरूप देउवाले सो निर्देशन दिएका हुन्।

‘केन्द्रीय सदस्य श्यामकुमार घिमिरेमाथि भएको आक्रमणका सम्बन्धमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत समेतका व्यक्तिहरूसँग २४ घण्टा भित्र स्पष्टीकरण लिई पार्टी विधान बमोजिम ३ दिनभित्र कारबाहीको टुङ्गो लगाउन पार्टी अनुशासन समितिलाई सभापतिले निर्देशन दिनुभएको छ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेत समूहका नेताहरुले शुक्रवार क्रियाशील सदस्य छानबिन समितिका सदस्य घिमिरेमाथि हातपात गरेका हुन्। पशुपतिको धर्मशालामा नेपाली काँग्रेसको क्रियाशील सदस्यबारे चलिरहेको छानबिनमा मोहन बस्नेत निकट नेता हरिशरण श्रेष्ठको टोलीले घिमिरेमाथि हातपात गरेको हो।

बस्नेत निकट नेता श्रेष्ठ १३ औँ महाधिवेशनका बेला सिन्धुपाल्चोक जिल्लाको सभापतिको उम्मेदवारमा पराजित नेता हुन्। यस्तै, मोहन बस्नेत नेपाली काँग्रेसको संस्थापन पक्ष शेर बहादुर देउवा निकट नेता हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस