पर्यटन सचिव कोइराला र विभागीय प्रमुखबिच कार्य सम्पादन करार सम्झौता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पर्यटन सचिव कोइराला र विभागीय प्रमुखबिच कार्य सम्पादन करार सम्झौता


१ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूबिच कार्यसम्पादन करार सम्झौता भएको छ ।

मन्त्रालयमा आयोजित एक कार्यक्रम बिच सचिव यादव प्रसाद कोइराला र पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतम, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहाल, नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठानका कार्यकारी निर्देशक दीपक कुमार थापालगायत विभागीय प्रमुख तथा पदाधिकारीसँग आर्थिक वर्ष २०७८/०७९ को कार्यसम्पादन सम्झौता भएको हो ।

सो क्रममा मन्त्रालयका सचिव कोइरालाले सेवा प्रवाहलाई प्रभावकारी बनाउन, आयोजनाहरूलाई गुणस्तरीय तवरले समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । साथै नेपाल सरकारको २०७८ असार २९ को बैठकले गरेका आ आफ्ना विभागसँग सम्बन्धित निर्णयहरू तदारुकताका साथ कार्यान्वयन गर्न जोड दिएका छन् ।

निजामती सेवा नियमावलीमा कार्य सम्पादन सम्झौताबमोजिमको कामको वार्षिक समीक्षा गर्नका लागि सम्बन्धित मन्त्रालयको संयोजकत्वमा अर्थ मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, सम्बन्धित मन्त्रालय र राष्ट्रिय योजना आयोगका प्रतिनिधि रहेको एक समिति रहने व्यवस्था छ भने कार्य सम्पादन सम्झौता प्रणाली लागू भएको निकायको विभागीय प्रमुख, कार्यालय प्रमुख वा आयोजना प्रमुखमा पदस्थापन गर्दा सम्भाव्य निजामती कर्मचारीहरूमध्येबाट त्यस्तो निकायको दुई वर्षको रणनीति योजना र कार्य सञ्चालनसम्बन्धी योजना एवं अपेक्षित उपलब्धिसहित कार्य योजना पेस गर्न लगाई उत्कृष्ट योजना पेस गर्ने कर्मचारीलाई उपनियम ४ बमोजिमको समितिको सिफारिसमा उपनियम एक को पदाधिकारीहरूसँग कार्य सम्पादन सम्झौता गरी उक्त पदमा पदस्थापन गर्न सकिने भनिएको छ ।

तर पछिल्लो समय कार्य सम्पादन करार सम्झौता फेसन जस्तै बनेको छ । नयाँ आर्थिक वर्षको सुरुमा हरेक जसो मन्त्रालयले मातहतका प्रमुखहरूसँग सम्झौता गर्ने गरेको छन् । सम्झौता एक वर्षका लागि गरिएको हुन्छ भने यसरी सम्झौता गर्ने कर्मचारी तीन महिनामै पनि सरुवा भएको यसअघिका उदाहरणहरू छन् । साथै सम्झौताअनुसार काम नगर्ने कर्मचारीलाई दण्ड दिने गरेको देखिँदैन भने उत्कृष्ट काम गर्नेलाईसमेत पुरस्कृत गरेको कहीँ कतै सुन्न पाइँदैन ।

कार्य सम्पादन करार सम्झौता आफैमा राम्रो अभ्यास भए पनि यसलाई बिरालो बाँधेर श्राद्ध गरेझैँ गर्नुभन्दा परिणाममुखी बनाउन सके मात्र यसको अर्थ र औचित्य पुष्टि हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस