दलहरुबीच बृहत्तर राष्ट्रिय एकताको खाँचो छ: सभामुख सापकोटा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

दलहरुबीच बृहत्तर राष्ट्रिय एकताको खाँचो छ: सभामुख सापकोटा


१ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले समग्र बदलिँदो परिस्थितिलाई विश्लेषण गर्दै हरेक हिसाबले दलहरुबीच बृहत्तर राष्ट्रिय एकताको खाँचो औँल्याएका छन् ।

सङ्घीय संसद् आइतबारदेखि शुरु हुने अधिवेशनको व्यवस्थापन तयारीको निरीक्षणपछि सञ्चारकर्मीको जिज्ञासामा उनले पुनःस्थापित संसद् धेरै हिसाबले ऐतिहासिक, बहुआयामिक र दूरगामी महत्वको रहेकाले दलहरुबीच एकता अपरिहार्य रहेको बताए । सभामुख सापकोटाले भने, ‘बृहत् राष्ट्रिय एकताको शक्तिशाली सन्देश दिने थलो प्रतिनिसभा हो, यो अहिलेको आवश्यकता हो, यहाँबाट यो सन्देश दिनुपर्छ भन्ने मेरो मत छ, दलहरुसँग समन्वय गर्नेमा इमान्दारी र निष्ठाका साथ प्रयत्न गर्ने छु ।’

उनले जनताको आशालाई विश्वासमा परिणत गर्न सबैले नयाँ परिवेशमा नयाँ ढङ्गले विगतका अनुभवको समीक्षा गर्दै व्यवस्थापन, प्रस्तुति र छलफलको वातावरण बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । दलहरुबीचको सहमति र सहकार्यले संसद्लाई जीवन्त, जनमुखी, चलायमान र गतिशील बनाउने वावरण सिर्जना हुने उनले बताए ।

सभामुख सापकोटाले भने, ‘सदनको यस अधिवेशनले जनतालाई आशाको सञ्चारको सन्देश जाने गरी अधिवेशन शुरु हुने छ, वातावरण बनाउन दलबीचको समझदारी निर्णायक हुन्छ ।’ उनले दलहरुबीचको समझदारी र सरकारले दिने विजनेशका आधारमा अधिवेशन अघि बढ्ने भएकाले त्यसमा सहमति र समवन्यमा आफूले पहलकदमी लिने विश्वास दिलाए ।

कोरोना सङ्क्रमण कायममै रहेको अवस्थामा शुरु हुन लागेको संसद्को अवधिवेशनका लागि स्वास्थ्य मापदण्ड पूरा गरी गरिनुपर्ने सबै तयारी पूरा भएको संसद् सचिवालयका प्रवक्ता डा। रोजनाथ पाण्डेले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस