दुई व्यापारिक कम्पनीविरूद्ध ६७ करोडको मुद्दा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दुई व्यापारिक कम्पनीविरूद्ध ६७ करोडको मुद्दा


३१ असार २०७८, बिहिबार


राजश्व अनुसन्धान विभाग

काठमाडौँ। राजश्व अनुसन्धान विभागले दुई व्यापारिक कम्पनीविरूद्ध ६७ करोडको मुद्दा दायर गरेको छ ।

नक्कली भ्याट बिल प्रकरणमा एक व्यापारिक फर्मसँग ४१ करोड ५१ लाख ३१ हजार ८५४ रूपैयाँ बिगो माग्दै अदालतमा मुद्दा दायर गरेको छ।

सर्लाही ब्रह्मपुरीको मनिराज सप्लायर्स, त्यसका प्रोप्राइटर राज देवी र फर्मका मुख्य कारोबारी राजाराम महतोसँग उक्त बराबरको बिगो, जरिवाना र जेल सजायसमेत माग दाबी लिई बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको हो।

विभागकाअनुसार राजदेवी र महतोले मालवस्तु स्थानीय खरिद तथा आयात नगरी, झुटा रसिद देखाएर फर्महरूलाई बिक्री बिजक मात्र जारी गरी भुक्तानी लिएर राजश्व छली गरेको पाइएको छ। उनीहरूले अन्य व्यापारिक फर्महरूबाट असुल गरे पनि सरकारी कोषमा मूल्य अभिवृद्धि कर नगरेको र आयकरसमेत चुहावट गरेको अनुसन्धानले देखाएको छ ।

प्रतिवादीले १५ करोड ८४ लाख १७ हजार ३०७ रूपैयाँ मूल्य अभिवृद्धि कर र २५ करोड ६७ लाख १४ हजार ५४७ रूपैयाँ आयकर छलेको पाइएको विभागले जनाएको छ।

यसैगरी, विभागले रौतहटको शिव ट्रेडर्सका प्रोप्राइटर तथा अल्का सप्लायर्सका मुख्य कारोबारी ओमप्रकाश सैह भूमिहारसँग २५ करोड ३५ लाख ४१ हजार ५८४ रूपैयाँ बिगो मागी मुद्दा दायर गरेको छ। भूमिहारले मालवस्तु स्थानीय खरिद तथा आयात नगरी विभिन्न फर्महरूबाट झुटा तथा नक्कली कर बिजक लिएर मूल्य अभिवृद्धि कर र आयकर छलेको पाइएको छ।

उनले मूल्य अभिवृद्धि कर ७ करोड ४५ लाख ८६ हजार ४९० र आयकर १७ करोड ८९ लाख ५५ हजार ९४ रूपैयाँ आयकर छली गरेको अनुसन्धानबाट खुलेपछि बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस